तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन नसक्ने जगन्नाथ थपलियाको भनाइ


काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको भएपनि तत्काल राजनीतिक तथा सार्वजनिक गतिविधिमा सक्रिय हुन नसक्ने बताएका छन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै थपलियाले श्रावण १८ गते बागमती प्रदेशको समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफलमा सहभागी भइरहेका बेला अचानक रक्तचाप र मधुमेहमा असन्तुलन देखिएपछि स्वास्थ्यमा गम्भीर जटिलता उत्पन्न भएको जानकारी दिएका छन् ।

चिकित्सकको सल्लाहअनुसार थप परीक्षण तथा उपचारका लागि आफू करिब आठ दिन वीर अस्पतालमा भर्ना भएको उनले बताएका छन् । आवश्यक परीक्षण, चिकित्सकीय निगरानी र उपचारपछि स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको उनको भनाइ छ ।

थपलियाले वीर अस्पतालका प्रा.डा. ध्रुव गैरेको नेतृत्वमा रहेको चिकित्सक टोलीसहित उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन् ।

आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्न अस्पतालमा उपस्थित हुने र विभिन्न माध्यमबाट शुभेच्छा व्यक्त गर्ने पार्टीका नेता, कार्यकर्ता, आफन्त तथा शुभेच्छुकप्रति उनले धन्यवाद दिएका छन् ।

उनले आफू अझै पूर्ण रूपमा स्वस्थ भइनसकेको भन्दै चिकित्सकको सल्लाहअनुसार केही समय नियमित औषधि सेवन, पर्याप्त आराम र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । सोही कारण तत्कालै पूर्ववत् रूपमा राजनीतिक तथा सार्वजनिक गतिविधिमा सक्रिय भएर जिम्मेवारी निर्वाह गर्ने अवस्थामा नरहेको उनले स्पष्ट पारेका छन् ।

थपलियाले आफ्नो स्वास्थ्य अवस्था र राजनीतिक जिम्मेवारीसँग सम्बन्धित विषयमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका अपूर्ण, गलत वा अतिरञ्जित सूचनाका आधारमा कुनै निष्कर्षमा नपुग्न आग्रह गरेका छन् ।

स्वास्थ्यलाभपछि थप ऊर्जा र प्रतिबद्धताका साथ एमाले बागमती प्रदेशलाई सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउन तथा राष्ट्रिय स्तरमा पार्टीको भूमिका बलियो बनाउन आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।