रोल्पामा पहिरोमा पुरिएकामध्ये सात जनाको शव फेला, अझै पाँच बेपत्ता


रोल्पा । अविरल वर्षाको कारण रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । पहिरोमा परी बेपत्ता पाँच जनाको खोजीकार्य जारी राखिएको छ ।

पहिरोमा परी मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने १८ वर्षीया शान्ति पुन मगर, अन्दाजी ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर छन् ।

मृत्यु हुनेहरुमध्ये एक महिला र दुई जना पुरुषको शव प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानबाट समेत विपद् व्यवस्थापनसहितको टोली बेपत्ता भएकाहरुको खोजीकार्यको लागि परिचालन भएको छ ।

पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । उनीहरु दुवै जनालाई स्वास्थ्य चौकी थवाङ्गबाट थप उपचारको लागि बुटवलतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । लगातार वर्षाको कारण लेदोसहितको पहिरो आईरहेको हुँदा उद्धार कार्यमा कठिनाई परेको छ ।

त्यस्तै बेपत्ता भएकाहरुमा सोही ठाउँ बस्ने ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्र्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन् ।
पहिरोमा परी सोही ठाउँ बस्ने मृतक कमल बहादुर पुनमगरको घरसहित अन्य घर र गोठ पुरिँदा पशु चौपाया समेत बेपत्ता भएका छन् ।