कोशी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, दिए मन्त्रीले राजीनामा, अब एमाले-नेकपाको सरकार बन्ने


विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएका छन् । हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सहभागी कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले बुधबार राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा सहभागी भएपछि मन्त्रीहरुले मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका हुन् । कोशी सरकारमा काँग्रेसका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाकार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ थिए ।

कांग्रेस र एमालेबीच भएको सहमति अनुसार २०८१ भदौ २८ गते कोशी सरकारमा कांग्रेस सहभागी भएको थियो । त्यसपछि दोस्रो पटक मन्त्रिपरिषद् पुनःगठन गर्दा २०८२ पुस २२ गते उनीहरू मन्त्री नियुक्त भएका थिए । केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबिच गठबन्धन गर्न साउन दोस्रो हप्तामा तीन बुँदे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो ।