काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री बालेन साहले दुई छिमेकी मुलुकका राजदूतहरूसँग अलग–अलग गरेको शिष्टाचार भेटलाई लिएर ठूलो महत्वका साथ भइरहेको चर्चा–परिचर्चा निरर्थक रहेको बताएका छन् ।
सामाजिक संजालमार्फत थापाले यसलाई धेरै ठूलो विषय बनाएर चर्चा गरिरहनुपर्ने कुनै कारण नभएको बताएका हुन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री बालेन साहले दुई छिमेकी मुलुकका राजदूतहरूसँग अलग–अलग गर्नुभएको शिष्टाचार भेटलाई लिएर ठूलो महत्वका साथ भइरहेको चर्चा–परिचर्चा निरर्थक छ । प्रधानमन्त्री नियुक्त हुनासाथ राजदूतहरूसँग सामूहिक भेटघाट गर्नुभएको थियो, जुन स्वाभाविक नै थियो। अहिले अनुकूल समयमा उहाँहरूसँग अलग–अलग भेट्नुभएको छ; यसलाई धेरै ठूलो विषय बनाएर चर्चा गरिरहनुपर्ने कुनै कारण छैन।’
उनले आवश्यकता अनुसार प्रधानमन्त्रीले राजदूत भेट्नु एकदमै स्वाभाविक भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘आफूलाई विद्वान् र विश्लेषक ठान्ने कतिपयले प्रधानमन्त्रीले आफ्नो गल्ती सुधारेको टिप्पणी गरेका छन् भने कसैले उहाँलाई स्याबासी र प्रशंसा दिएका छन्। यी सब हाम्रा हीन मानसिकताका परिणाम हुन् । राजदूतहरूले परराष्ट्रमन्त्रीलाई भेट्नु कुनै नौलो समाचार नै होइन—उनीहरूको काम नै त्यही हो। आवश्यकता अनुसार प्रधानमन्त्रीले पनि भेट्नु एकदमै स्वाभाविक हुन्छ। त्यसैले, यस्ता सामान्य भेटघाटहरूलाई अतिरञ्जित ढङ्गले व्याख्या र विश्लेषण गरिरहनु आवश्यक छैन। राजदूतले मन्त्री÷प्रधानमन्त्रीलाई भेटेको विषयलाई राष्ट्रिय महत्वको समाचार बनाउने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’

प्रतिक्रिया