दाजुहरुको सबै माग पुरा गरिदिनुस्


गगनजी
जय नेपाल ।
हिजो तपाईं नेतृत्वको कार्यसमितिलाई सम्बोधन गरेर एउटा लामै पत्र सम्प्रेषण गरेको थिएँ । ब्यस्तताले पढ्न नभ्याउनु भएको हुनसक्छ । आज बिहान करिब ३ बजे ब्यूँझिएछु । निन्द्रा लागेन । धेरै कुरा मनमा खेले । मनको खुल्दुलीले यो पत्र जन्माएछ । कहिलेकाही निन्द्रा नलाग्दा पनि राम्रै हुँदै रहेछ कि कुन्नि ।
गगनजी,
तपाईंले राजनीति जितिसक्नुभएको छ , हृदय जितिसक्नुभएको छ । दाजुहरुले के भन्नु भयो ? के भन्न लगाउनु भयो ? दाजुहरुले कति गाली गर्नु भयो ? कति गाली गर्न लगाउनु भयो ? दाजुहरुले मुद्दा फिर्ता लिनुहुन्छ, लिनुहुन्न । दाजुहरुको पछाडि कति जनमत छ वा छैन ? यी सबै तपसिलका कुराहरु हुन् । झिनामसिना कुराहरु हुन् । यस्ता कुराहरु किसुनजीले भन्नुभए जस्तैः सचेत बिस्मृतिमा राखेर अगाडि बढ्नुहोस् । तपाईंको राजनीतिक राजमार्ग खुला छ, सफा छ । ढुक्क हुनुहोस् । दाजुहरुको सबै माग पुरा गरिदिनुहोस् । नेतृत्व भनेको आफ्ना आलोचकहरुलाई पनि निश्चिन्त भएर सुत्न सक्ने वातावरण बनाईदिनु पनि हो । दाजुहरुलाई राम्रो सँग सुत्न दिनुहोस्, निदाउन दिनुहोस् । फेरि यसो गर्न खोज्दा तपाईंलाई रोक्न खोज्नेहरु पनि उतिकै हुन्छन् । तपाईंको वरिपरि पनि तपाईंको दौराको फेरो समातेर मात्रै बैतर्णी तर्न सक्नेहरुको संख्या पनि सानो छैन, गम्भीर हुनुहोस् ।

दाजुहरुकै माग अनुसार दाजुहरुले नै भनेका मानिसहरु समेत राखेर के के समिति बनाउनु पर्ने हो बनाउँछु भन्नु भएकै छ बनाउनुहोस् । दुनियाँले राम्रोसँग देख्न, सुन्न र महशुस गर्न सक्ने गरि सबैको सहमतिमा १५ औ महाधिवेशन गर्नका लागि आवश्यक पर्ने सबै अधिकारहरु प्रत्यायोजन गरेर एउटा अधिकार सम्पन्न समिति बनाईदिनुहोस्, केन्द्रीय कार्यसमिति देखि प्रदेश, जिल्ला र मातहतका सबै कार्यसमितिहरु भङ्ग गरिदिनुहोस् । बाटो खुलाईदिनुहोस् । दाजुहरुले भन्न नसक्नु भएको, माग्न नभ्याउनु भएको वा छुटाउनु भएको बाँकी केही कुरा छन् भने पनि सोधी सोधी पुरा गरिदिनुहोस् ।

कठिन समयमा ठूलो कुरा बोल्नेभन्दा ठूलो निर्णय गर्ने साहस चाहिन्छ। इतिहासमा नेताहरु केवल चुनाव जितेर र पदमा बसेर महान् बनेका होइनन्; कठिन समयमा सही निर्णय गरेर महान् बनेका हुन् । तपाईं महान बन्ने बाटोमा हुनुहुन्छ । आज तपाईंले यो निर्णय गरेर नेपाली कांग्रेसको भावी इतिहासलाई एउटा नयाँ बाटो दिन सक्नुहुन्छ। सन्देश दिन सक्नुहुन्छ । काङ्ग्रेस विभाजन गर्न खोज्नेहरुलाई जवाफ दिन सक्नुहुन्छ । समयले सधै यो अवसर दिँदैन । चेतनाको उच्च तहको भरपुर प्रयोग गरिदिनुहोस् ।
राजनीतिमा सबै कुरा जित्नु पर्दैन । कहिलेकाहीँ केही कुरा छोडेर पनि इतिहास जित्नुपर्छ। भोलिका सन्ततिहरुले इतिहासमा यस्तो मानिस पनि जन्मिएको थियो र ? भनेर बिश्वास गर्न समेत कठिन हुने एउटा अद्भुत रहस्य बनिदिनुहोस् । शुभकामना छ ।
दाइ
किशोरदत्त बराल
कास्की