काठमाडौँ । नेपालका शेखर थापाले ११औँ एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा कास्य जितेका छन् । मङ्गोलियाको उलानबटारमा भएको प्रतियोगितामा शेखरले ‘ब्ल्याक वेल्ट थर्ड डान प्याटर्न’ मा कास्यपदक जितेका हुन् ।
नेपाल अन्तरराष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटीएफ) का महासचिव घमबहादुर थापाले शेखरसँगै मङ्गोलियाका दोर्जपालाम अयुर्जानान पनि तेस्रो भएका जानकारी दिए । उनका अनुसार मलेसियाका चीन लुङ काङले स्वर्ण र फिलिपिन्सका अमाइज क्रिस्टर लुले रजत पदक जितेका छन् ।
शेखरले स्पाइरिङतर्फ पुरुष ६५–७० किलोतौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए । यो स्पर्धामा उनले पदक जितेनन् । शेखर दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता हुन् । उनले पहिलो संस्करणको ‘प्याटर्न’ र दोस्रो संस्करणको ‘स्पाइरिङ’ मा रजत जितेका थिए । उनले तेस्रो इन्डो–नेपाल आइटीएफ
तेक्वान्दोको स्पाइरिङमा स्वर्ण हात पारेका थिए । तेस्रो जनरल चोइ स्मृति राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिताको प्याटर्नमा शेखरले पहिलो स्थान हात पारेका थिए ।
महासचिव थापासहित प्रतियोगितामा आइटीएफका अध्यक्ष प्रवीणकुमार कार्कीले अम्पायरको भूमिका निर्वाह गरेका थिए । दोस्रोपटक एसियाली आइटीएफ तेक्वान्दो प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गरेका अध्यक्ष कार्कीले आइएमजिसी विश्व च्याम्पियनसिप र दक्षिण एसियाली आइटीएफ तेक्वान्दामा पनि अम्पायरको भूमिका निर्वाह गरेका थिए ।
त्यस्तै महासचिव थापा दोस्रोपटक प्रतियोगतामा अम्पायरका रूपमा सहभागी भएका हुन् । थापाले सन् २०१९ र २०२५ मा आइटीएफ विश्व च्याम्पियनसिप तथा आइटीएफ वल्र्ड कपमा पनि अम्पायरको भूमिका निर्वाह गरेका थिए । थापा दक्षिण एसियाली आइटीएफ तेक्वान्दामा पनि अम्पायरको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया