धर्मको नाममा हुने सबै प्रकारका कानुनविपरीतका गतिविधिलाई कडाइका साथ रोक्न राप्रपाको माग


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले धार्मिक संस्थाहरूलाई समान र पारदर्शी कानुनी दायरामा ल्याउनुपर्ने बताएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद लामाले कप्तानगञ्ज र गोलबजारमा भएका घटनामा ज्यान गुमाउने तथा घाइते हुने सबै नेपाली नागरिक भएकाले उनीहरूको सुरक्षाको जिम्मेवारी राज्यको भएको बताइन्।

यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन सरकारले आवश्यक सुरक्षा समन्वय तथा दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्नेमा उनले जोड दिइन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै उनले धार्मिक सहिष्णुता नेपालको विशेषता भएको बताइन्।

सबै धार्मिक संस्थालाई समान र पारदर्शी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले धार्मिक संस्थाहरू सम्बन्धित सरकारी निकायमा अनिवार्य रूपमा दर्ता हुने व्यवस्था गर्नुपर्ने बताइन्। धर्मको नाममा हुने सबै प्रकारका कानुनविपरीत गतिविधिलाई कडाइका साथ रोक्न उनको माग छ ।