काठमाडौँ । बालेन साहको नेतृत्वमा सरकार गठन भएसँगै सरकारले जेसुकै काम गरोस् सबैले प्रशंसा र वाहीवाही मात्र गर्थे । जेनजी आन्दोलन दमनमा भूमिका खेलेको भन्दै प्रधानमन्त्री भएको भोलिपल्टै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरे । यसलाई सरकारले ठूलै काम गरेको जस्तो गरी प्रशंसा गरियो । तर यहाँ प्रक्रिया नमिलेकोबारे कसैलाई मतलबै भएन । तर उनीहरुविरुद्ध सरकारले मुद्दा दर्ता नै गर्न सकेन । उनीहरु सर्वोच्चको आदेशमा केही दिनमै रिहा भए । स्वास्थ्य बीमा बोर्डमा श्रीमतीलार्ई सदस्य नियुक्त गरेको भन्दै श्रममन्त्री दीपककुमार साह बर्खास्तीमा परे । यस्तो हेर्दा सरकारले केही गर्छ के हो भन्ने आमजनमानसमा समेत परेको थियो । रास्वपालाई पर्नु त स्वाभाविकै थियो ।
यही बीचमा गृहमन्त्री सुदन गुरुङ विचौलियाकोरुपमा चिनिएका व्यवसायी दीपक भट्टसँको साझेदारीमा जोडिए । त्यसपछि उनले राजीनामा दिए । छानबिन समितिले प्रतिवेदन बुझायो। सुदन चोख्खिए । प्रतिवेदन सार्वजनिक नगरी उनलाई फेरि गहमन्त्री बनाइयो । यतिबेलासम्म प्रधानमन्त्री बालेनले जे गरे पनि कोही बोल्न सकेका थिएनन् । तर जब सुदनलाई फेरि गृहमन्त्री बनाइयो, त्यसपछि रास्वपामा विरोधका स्वर सुनिन थाले । सुदन फेरि गृहमन्त्री बन्ने, सुकुम्बासीहरुको विजोग बनाइयो, त्यसपछि रास्वपाका सांसद केहीले सदनमा त केहीले सामाजिक संजालमार्फत विरोध गर्न थाले । अहिले त सांसद मात्र होइन, मन्त्रीले नै प्रधानमन्त्री र अरु मन्त्रीको आलोचना गर्न थालेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वकीय सचिवको विषयमा अरु मन्त्रीको आलोचना नै गरे ।
सरकारका कामबाट रास्वपाका सांसद यति असन्तुष्ट भइसकेछन् कि शुक्रबारको सदनमा एकैदिन रास्वपाका आठ सांसदले सरकारको आलोचना गरे । ग्याँस हाहाकार हुँदा सरकारले समाधान गर्न नसकेको भन्दै केहीले सरकारको आलोचना गरे । सांसद मनिष झाले चाहिँ सरकारको ढंग नपुगेको भन्दै आलोचना गरे । दिउँसो संसदमा आफ्नै पार्टीका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री साहले राति सामाजिक संजालमार्फत आफू एक्लो भएको गुनासो गरे । प्रधानमन्त्रीले एक्लो भएको बताएपछि फेरि रास्वपाका केही साँंसदले सरकारको साथमा आफूहरु रहेको, तर गति र मति सुधार्नुपर्ने आशयका स्टाटस लेखे ।
सरकारमाथि सांसदले प्रश्न उठाउँदा रवि पक्षले बालेनलाई अप्ठ्यारो पार्न खोजेको भनेर कतिपयले टिप्पणी पनि गरेका छन् । रवि लामिछाने निकट सांसद दीपक बोहोराले सामाजिक संजालमा लेखे, ‘मैले त कालो चस्मा खोलेँ है !’ बालेनले कालोचश्मा नखोलेको भन्दै आलोचना भइरहेका बेला बोहोराको यस्तो अभिव्यक्ति बालेनतर्फ केन्द्रित देखिन्छ ।
त्यस्तै रास्वपामा अर्थमन्त्री वाग्लेलाई जोड्ने सेतुकारुपमा चिनिएका सांसद श्रीराम न्यौपानेले सरकार र अर्थमन्त्रीको आलोचना गरेका छन् । उनले सामाजिक संजालमार्फत अर्थमन्त्रीको आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘सरकार एक्लो छैन– जनता र सांसद साथमा छन्। तर साथको अर्थ अन्ध समर्थन होइन, सही समयमा खबरदारी र आवश्यक सुधार पनि हो । अर्थमन्त्रीको अर्थनीतिक सूत्र असफल भयो । संविधानको भावना र नेपाली यथार्थ विपरीत गरिएको प्रयोग पछि जनदबाबका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा ३% समता कर छुट दिने निर्णय भयो। यसले देखाउँछ– अर्थनीति कागजी सूत्र होइन, जनजीवन, संविधानको मर्म र देशको वास्तविकतामा अडिएको हुनुपर्छ।’
त्यस्तै शनिबार भैरहवामा आयोजित कार्यक्रममा रास्वपा महामन्त्री विपिनकुमार आचार्यले रास्वपा तथा सरकारका काममा कमजोरी देखिए खुलेर प्रश्न गर्न नागरिकलाई आग्रह गरे ।
खासमा सुनसरी, सिरहालगायतका जिल्लामा भएको घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकालाई लिएर रास्वपाका सांसदहरु रुष्ट देखिएका छन् । सामाजिक सद्भाव कायम राख्न राष्ट्रका नाममा सुरुमै सम्बोधन गर्नुपर्नेमा तीन दिनसम्म प्रधानमन्त्री अटेर गरी बसे । तीन दिनपछि बल्ल सम्बोधन गरे । त्यतिबेलासम्म सुनसरीमा तीन र सिरहामा एक जनाको ज्यान गएको थियो । यो घटनामा सरकारको भूमिकासँग सायदै कोही सन्तुष्ट थियो होला । त्यस्तै मन्त्रीले दर्जनौ स्वकीय सचिव राख्ने, मन्त्रीका स्वकीय सचिवलाई फिल्ड खटाएर काम गराउने, राजनीतिक नियुक्तिमा बालेन पक्ष हावी भएकोलगायतका कारण सरकारप्रति रास्वपाका सांसदहरु आक्रोशित भएका हुन् ।
सरकारको कार्यशैलीका कारण आफ्नै सांसदहरु सरकारविरुद्ध बोल्न थालेपछि यता पार्टी सभापति रवि लामिछानेले रफ्फू भर्न थालेका छन् ।
शनिबार साँझ युवा उद्यमीहरुसँगको छलफलमा सभापति लामिछानेले सरकार सञ्चालनका क्रममा विभिन्न चुनौती र उतारचढाव आएपनि त्यसलाई सामना गर्दै गन्तव्यमा पुर्याउने बताए । उनले उडान गन्तव्यमा नपुग्ला कि भनेर चिन्ता नगर्न आग्रह गरे । उनले भने, ‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिँडेका छौँ, कहिलेकाहीँ मौसमका कारण टर्बुलेन्स आउन सक्छ । तर, हामी गन्तव्यमा सुरक्षित पुर्याउँछौँ ।’ सभापति लामिछानेले सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता आफूहरूसँग रहेको समेत बताएका छन् । पाँच वर्षको म्यान्डेट लिएर आएको सरकार चार महिनामै आफ्नै पार्टीबाट समेत यसरी घेराबन्दीमा पर्नु राम्रो होइन । सरकारप्रति आफ्नै सांसदको असन्तुष्टि, एक्लो बनेको प्रधानमन्त्रीको रोदनलाई रविको रफ्फूले कति दिन काम गर्ला ?

प्रतिक्रिया