अन्तर्राष्ट्रिय परिस्थितिलाई समेत ध्यानमा राखेर नीति निर्माण आवश्यकः उपाध्यक्ष भट्ट


काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक र समावेशी आर्थिक वृद्धि हासिल नगरेसम्म सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य पूरा गर्न चुनौती हुने बताएका छन् । 

आइतबार सुशासन संरक्षण मञ्चले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भट्टले १६औँ राष्ट्रिय योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्रमुख विषयका रूपमा अघि सारेको बताए।

उनले आर्थिक वृद्धि र विकासको मूल प्रवाहमा समाजका विभिन्न वर्ग, क्षेत्र, समुदाय तथा भूगोललाई जोड्नुपर्नेमा जोड दिए । आर्थिक विकासको लाभ सबै वर्ग र क्षेत्रसम्म पुग्न नसके सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने उनको भनाइ थियो।

‘१६औँ राष्ट्रिय योजनाले तीनवटा विषयलाई प्रमुख रूपमा उजागर गरेको छ । एउटा सुशासन नै हो, दोस्रो सामाजिक न्याय र तेस्रो समृद्धि हो,’ उनले भने, ‘जब सम्म हामीले ब्रोडबेस्ड इकोनोमिक ग्रोथ अटेन् गर्न सक्दैनौँ, जबसम्म आर्थिक वृद्धि र आर्थिक विकासको मूल प्रवाहमा समाजका विभिन्न वर्ग, क्षेत्र, सम्प्रदाय र भूगोललाई जोड्न सक्दैनौँ, तबसम्म हाम्रो सुशासन, सामाजिक न्याय र समृद्धिको सपनालाई पूर्णता दिन चुनौती नै रहन्छ।’

उपाध्यक्ष भट्टले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई समेत ध्यानमा राखेर नीति निर्माण गर्नुपर्ने बताए। विश्व अर्थतन्त्र र विश्व राजनीतिलाई प्रभाव पारिरहेका विभिन्न प्रमुख पक्षलाई विश्लेषण गरेर नेपालले आफ्ना नीति, कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने उनको भनाइ छ।