राष्ट्रपति ट्रम्पका पूर्व वकिल ब्लान्श अमेरिकाको महान्यायाधिवक्तामा अनुमोदित


वासिङ्टन । अमेरिकी सिनेटले शनिबार टड ब्लान्शलाई ५०–४९ मतको साँघुरो अन्तरले महान्यायाधिवक्ताको पदमा नियुक्तिको अनुमोदन गरेको छ।

यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व निजी वकिललाई न्याय विभागको औपचारिक नेतृत्व मिलेको छ । ब्लान्शले अप्रिलमा ट्रम्पद्वारा पाम बोन्डीलाई शीर्ष पदबाट हटाएपछि कार्यवाहक महान्यायाधिवक्ताका रूपमा विभागको नेतृत्व गरिररहेका थिए । उनको नियुक्ति लामो र तीब्र राजनीतिक सङ्घर्षपछि भएको हो ।

यसैबीच डेमोक्र्याटिक पार्टीसँगै केही रिपब्लिकन सांसदहरूले पनि यस्तो प्रमुख विभागको नेतृत्व राष्ट्रपतिको नजिकको व्यक्तिलाई सुम्पनुपर्दा चिन्ता व्यक्त गरेका छन् । अमेरिकामा महान्यायाधिवक्ताको स्वतन्त्रतालाई लामो समयदेखि महत्वपूर्ण मानिँदै आएको छ ।

ब्लान्शको नियुक्ति अनुमोदन न्यूनतम अन्तर अर्थात् एक मतको अन्तरले भएको हो । रिपब्लिकन सिनेटर सुसान कोलिन्स र अलास्काकी सिनेटर लिसा मुर्कोव्स्कीले आफ्नो पार्टीभन्दा फरक धार अपनाउँदै उनको विरुद्ध मतदान गरेका थिए।

ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि ब्लान्शले न्याय विभागको पुनर्गठनमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले विभागका प्राथमिकताहरूलाई राष्ट्रपतिको नीतिअनुरूप बनाउने दिशामा काम गरेका आरोप लाग्ने गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको मागअनुसार नागरिकताको प्रमाणसँग जोडिएको कडा मतदान विधेयक पारित नगरिकन अमेरिकी सिनेटका सांसदहरू शनिबार बिहानै सदनबाट हिँडेका थिए ।

यससँगै हालैका केही दिनदेखि चलिरहेको गतिरोध अन्त्य भएको छ। सिनेटले रातभर चलेको मतदान प्रक्रियामा धेरै महत्वपूर्ण विधेयक र प्रस्तावहरूलाई स्वीकृति दिएको छ, तर ट्रम्पको प्राथमिकतामा रहेको ‘सेभ अमेरिका एक्ट’लाई भने अगाडि बढाएको छैन ।