राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित र जिम्मेवार राजनीतिक संस्कृति र नेपाली सेनाको संवैधानिक भूमिका


शैलेन्द्र कुमार श्रेष्ठ

भूमिका
कुनै पनि राष्ट्रको पहिलो आवश्यकता सुरक्षा हो। सुरक्षा बिना न जीवन सुरक्षित हुन्छ, न शान्ति, न विकास र न समृद्धि। इतिहासले प्रमाणित गरेको छ-जहाँ सुरक्षा बलियो हुन्छ, त्यहाँ शान्ति, लगानी, विकास र समृद्धिले गति लिन्छ; जहाँ सुरक्षा कमजोर हुन्छ, त्यहाँ अस्थिरता, विभाजन, आर्थिक मन्दी र बाह्य हस्तक्षेपको जोखिम बढ्छ। प्रकृतिले पनि यही सत्य सिकाउँछ। उर्वर माटोमा सुरक्षित रूपमा रोपिएको बीउ स्वस्थ बिरुवामा विकसित हुन्छ। तर त्यही बीउ प्रतिकूल वातावरणमा परेमा त्यसको वृद्धि अवरुद्ध हुन्छ । राष्ट्र पनि यस्तै हो । सुरक्षा र स्थिरताको वातावरणबिना कुनै पनि राष्ट्रले आफ्नो पूर्ण क्षमता हासिल गर्न सक्दैन । यसैले राष्ट्रिय सुरक्षा सेना वा प्रहरीको मात्र विषय नभइ प्रत्येक नागरिक, राजनीतिक नेतृत्व, राज्यका सम्पूर्ण निकाय र समाजको साझा जिम्मेवारी हो ।

तर वर्तमान अवस्थामा केही सार्वजनिक जिम्मेवार तथा बुद्धिजीवीहरू बाट समेत ‘सेना चाहिँदैन, ‘सेनाको संख्या कम गर्नुपर्छ’ तथा ‘नेपाली सेनाले नै गर्दा देश जान्छ’ भन्ने आशयका राष्ट्रिय सुरक्षालाई असर पार्न सक्ने अभिव्यक्तिहरू सार्वजनिक हुनु निकै गम्भीर, डरलाग्दो र चिन्ताजनक विषय हो । लोकतान्त्रिक व्यवस्थामा विचार, आलोचना र असहमतिको अधिकार सबैलाई छ तर राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकतासँग प्रत्यक्ष जोडिएका संवेदनशील संस्थाप्रति बोल्दा त्यसले जनमानस, राष्ट्रिय एकता, संस्थागत विश्वास र सुरक्षा निकायको मनोबलमा पार्न सक्ने प्रभावबारे अत्यन्त गम्भीर हुन आवश्यक छ । राजनीतिक लाभ, लोकप्रियता वा तत्कालीन असन्तुष्टिलाई सम्बोधन गर्ने क्रममा व्यक्त गरिएका यस्ता अभिव्यक्तिले केही समयका लागि वाहवाही वा राजनीतिक समर्थन प्राप्त गरेजस्तो देखिए पनि त्यसले दीर्घकालीन रूपमा नागरिक र सुरक्षा संस्थाबीचको विश्वास कमजोर बनाउन सक्छ । राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा बोलिएको एउटा गैरजिम्मेवार वाक्यले पनि समाजमा अविश्वास, विभाजन र असुरक्षाको भावना पैदा गर्न सक्छ । त्यसैले राजनीतिक नेतृत्व, जनप्रतिनिधि,  सार्वजनिक व्यक्तित्व, सञ्चारमाध्यम, नागरिक समाज र प्रत्येक नागरिकले आफ्नो अभिव्यक्तिको राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावबारे सचेत र जिम्मेवार हुन आवश्यक छ ।

राष्ट्रको सुरक्षा कमजोर पार्ने कुनै पनि प्रवृत्ति अन्ततः राष्ट्रको शान्ति, स्थायित्व, विकास र समृद्धिमाथिको चुनौती बन्न सक्छ । त्यसैले सुरक्षा निकायको आलोचना गर्नै नहुने भन्ने होइन; तर आलोचना तथ्यमा आधारित, जिम्मेवार, सुधारमुखी र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनुपर्छ । राष्ट्रिय सुरक्षा र संवैधानिक संस्थाप्रतिको जनविश्वास कमजोर पार्ने अभिव्यक्ति लोकतान्त्रिक बहसको स्वस्थ अभ्यास बन्न सक्दैन । आजको आवश्यकता राजनीतिक प्रतिस्पर्धालाई कमजोर बनाउनु होइन, त्यसलाई राष्ट्रिय हित, राष्ट्रिय एकता र जिम्मेवार राजनीतिक संस्कारसँग जोड्नु हो । राजनीतिक दलहरूबीच विचार सिद्धान्त र नीतिमा प्रतिस्पर्धा हुन सक्छ; तर राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र सुरक्षाका आधारभूत विषयमा राष्ट्रिय दृष्टिकोण र जिम्मेवारीको भावना साझा हुनुपर्छ । त्यसैले राष्ट्रिय सुरक्षाको विषयलाई तत्कालीन राजनीतिक लाभ वा भावनात्मक बहसको विषय नबनाई राष्ट्रको अस्तित्व, नागरिकको समृद्धि तथा सुरक्षा र भावी पुस्ताको भविष्यसँग जोडिएको सर्वोच्च राष्ट्रिय सरोकारका रूपमा बुझ्नु आजको आवश्यकता हो ।

राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित
राष्ट्रिय सुरक्षा भन्नाले राष्ट्रले आफ्नो राष्ट्रिय हित, स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, संवैधानिक व्यवस्था तथा राष्ट्रिय स्वाभिमानको प्रभावकारी संरक्षण गर्दै आफ्नो दीर्घकालीन राष्ट्रिय उद्देश्य प्राप्त गर्न सक्ने समग्र क्षमतालाई जनाउँछ । राष्ट्रिय सुरक्षाका प्रमुख आधार राष्ट्रिय एकता, राजनीतिक स्थिरता, नागरिकको राष्ट्रबोध र चरित्र, सुशासन, विधिको शासन, आर्थिक स्थायित्व, सक्षम कूटनीति तथा सक्षम र व्यावसायिक सेना तथा सुरक्षा र अङ्गहरू हुन् । यी आधारहरू जति सुदृढ हुन्छन्, राष्ट्रिय सुरक्षा त्यति नै बलियो र दिगो बन्छ । यी आधार कमजोर भए भने राष्ट्रको सुरक्षा पनि कमजोर बन्छ । त्यसैगरी, राष्ट्रिय हित भन्नाले राष्ट्रको अस्तित्व, स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, संवैधानिक व्यवस्था, नागरिकको सुरक्षा र अधिकार, आर्थिक समृद्धि, सामाजिक सद्भाव, सांस्कृतिक पहिचान तथा अन्तर्राष्ट्रिय प्रतिष्ठाको संरक्षण र प्रवर्द्धनसँग सम्बन्धित राष्ट्रका सर्वोच्च प्राथमिकता र दीर्घकालीन उद्देश्यलाई जनाउँछ । राष्ट्रिय हित राज्यका नीति, निर्णय र कार्यको मूल मार्गदर्शक हो। यही राष्ट्रिय हितको संरक्षण नै राज्यका सबै निकायको साझा उद्देश्य हो ।

राष्ट्रिय सुरक्षा र नेपाली सेनाको संवैधानिक भूमिका
नेपालको संविधानले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षाको संरक्षणलाई राज्यको मूल दायित्वका रूपमा स्वीकार गरेको छ । यी संवैधानिक मूल्यहरूको प्रतिरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई प्रदान गरिएको छ । राष्ट्रिय सुरक्षाको पहिलो आधार राष्ट्रिय एकता, सुशासन, विधिको शासन, सक्षम कूटनीति, आर्थिक स्थायित्व र नागरिकको उत्तरदायित्व हो। यी आधारहरू सुदृढ रहँदा राष्ट्र सुरक्षित रहन्छ। तर यदि कुनै अवस्थामा राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता वा भौगोलिक अखण्डतामाथि गम्भीर चुनौती उत्पन्न हुन्छ भने त्यसको प्रतिरक्षाका लागि राष्ट्रको अन्तिम सुरक्षा कवच नेपाली सेना हो । लोकतान्त्रिक शासन व्यवस्थामा नेपाली सेना संविधान, नागरिक सर्वोच्चता र कानुनको अधीनमा रही आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्ने राष्ट्रिय संस्था हो । त्यसैले नेपाली सेनाको भूमिका केवल युद्धकालमा सीमित छैन; यो राष्ट्रिय स्थायित्व, एकता ,जनविश्वास, राष्ट्रिय अस्तित्व र संवैधानिक व्यवस्थाको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

नेपाली सेना तथा अन्य राष्ट्रिय सुरक्षा निकायको सेवाभाव अधिकार भन्दा माथि कर्तव्य
नेपाली सेना तथा अन्य राष्ट्रिय सुरक्षा निकायको सबैभन्दा ठूलो विशेषता अधिकारभन्दा कर्तव्यलाई सर्वोपरि मान्ने राष्ट्रसेवाको भावना हो । सैनिक जीवनको आधारभूत तालिमदेखि नै ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने आदर्श सैनिकको जीवनदर्शनका रूपमा स्थापित गरिन्छ त्यस्तै अन्य राष्ट्रिय सुरक्षा संस्थामा राष्ट्र र कर्तव्य नै सर्वोपरि हुन्छ ।यही संस्कारले सैनिक तथा फौजी सेवामा सेवा गर्नेलाई लाई व्यक्तिगत स्वार्थ, सुविधा र पारिवारिक हितभन्दा माथि उठेर राष्ट्रहितलाई सर्वोच्च प्राथमिकता दिन प्रेरित गर्छ ।

आजको विश्व स्मार्ट प्रविधि, सुविधा र व्यक्तिगत अधिकारप्रति बढी केन्द्रित हुँदै गएको छ । यस्तो परिवेशमा कठोर अनुशासन, निरन्तर प्रशिक्षण, कठिन शारीरिक तथा मानसिक परिश्रम, परिवारबाट लामो समय टाढा रहने जीवन, चाडपर्व र व्यक्तिगत सुख सुविधाको त्याग तथा आवश्यक पर्दा राष्ट्र र जनताको सुरक्षाका लागि आफ्नो जीवनसमेत समर्पण गर्छ  सैनिक वा सुरक्षा निकायका व्यक्ति रातभरि जाग्छ त्यही जागेको कारणले सम्पूर्ण नागरिकको शान्त निद्रा सुरक्षित हुन्छ । यस्तो अटल प्रतिबद्धता बोकेर सेवा गर्ने व्यक्तित्व वास्तवमै विशिष्ट हुन्छ। त्यसैले नेपाली सेना तथा अन्य राष्ट्रिय सुरक्षा निकायमा सेवा गर्ने प्रत्येक सदस्यको त्याग, समर्पण र राष्ट्रभक्तिको सम्मान गर्नु सम्पूर्ण राष्ट्रको दायित्व हो । लोकतान्त्रिक शासन व्यवस्थामा नेपाली सेना सामान्य अवस्थामा दैनिक शान्ति सुरक्षा कायम गर्ने सुरक्षा निकाय जस्तो होइन । नेपाली सेनालाई सामान्य प्रशासनिक वा कानुन परिपालना गर्ने गराउने प्रहरी अधिकार  दिइएको हुदैन तर संविधान र कानुनले तोकेको जिम्मेवारीअनुसार राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षाको अन्तिम प्रतिरक्षा गर्ने दायित्व भने नेपाली सेनाकै काँधमा रहेको छ । यही कारण सैनिक सेवाको मूल आधार अधिकार होइन, कर्तव्य, अनुशासन, त्याग र समर्पण हो ।

शान्तिको समयमा पनि सैनिक जीवन आरामदायी हुँदैन । सैनिकहरू चाहे शान्तिमा होस् वा युद्धमा निरन्तर प्रशिक्षण, युद्ध तयारी, विपद् उद्धार, सीमाक्षेत्रको जिम्मेवारी तथा अन्य राष्ट्रिय दायित्वमा व्यस्त रहन्छन् । उनीहरू घरपरिवारबाट टाढा बस्छन्, चाडपर्वहरू ड्युटीमै बिताउँछन् र राष्ट्रलाई आवश्यक परेको जुनसुकै क्षण आफ्नो जीवन जोखिममा राख्न तयार रहन्छन् । त्यसैले सैनिक वा अन्य सुरक्षाका फौजी सेवा केवल एउटा जागिर होइन; यो राष्ट्रप्रतिको आजीवन समर्पण र सेवाको उच्चतम उदाहरण हो । नेपाली सेनाको उपस्थिति केवल युद्धका लागि मात्र महत्त्वपूर्ण हुँदैन । राष्ट्रभित्र सक्षम, अनुशासित र व्यावसायिक सेनाको उपस्थितिले प्रतिरोधात्मक प्रभाव (Deterrence) सिर्जना गर्छ। यसले बाह्य शत्रुलाई मात्र होइन, राष्ट्रविरोधी गतिविधि गर्न सक्ने आन्तरिक तत्वहरूलाई समेत मनोवैज्ञानिक रूपमा निरुत्साहित गर्छ । आम नागरिकमा पनि ‘राष्ट्र संकटमा पर्दा नेपाली सेना साथमा छ’ भन्ने विश्वास र आत्मबल उत्पन्न हुन्छ। यो विश्वास आफैंमा राष्ट्रिय सुरक्षाको महत्वपूर्ण शक्ति हो । हामी दैनिक जीवनमै यसको अप्रत्यक्ष अनुभूति गर्छौं ।

राति घरको ढोका बन्द गरेर निश्चिन्त सुत्न सक्नुको आधार केवल भौतिक सुरक्षा होइन, सुरक्षाको मनोवैज्ञानिक अनुभूति पनि हो । ‘आपत् परे सेना छ’ भन्ने आत्मविश्वासले नागरिकलाई ढुक्क बनाउँछ । सेना प्रत्यक्ष रूपमा फिल्डमा नखटिए पनि उसको तयारी, उपस्थिति र भरोसाले नागरिकमा सुरक्षा रविश्वास जगाउँछ; यही मनोवैज्ञानिक आधारले हामीलाई शान्त र निर्धक्क निदाउन सहयोग गर्छ र हामीलाई देशको समग्र सुरक्षा प्रणालीप्रति विश्वास हुन्छ । त्यस विश्वासको एउटा महत्वपूर्ण आधार संविधान अनुसार राष्ट्रको अन्तिम सुरक्षा कवचका रूपमा सदैव तयारी अवस्थामा रहेको नेपाली सेना पनि हो। सैनिकको यही निरन्तर तयारीले नागरिकमा सुरक्षाको अनुभूति र राष्ट्रप्रति आत्मविश्वास कायम राख्छ । यही सैनिक संस्कार, फौजी अनुशासन, व्यावसायिकता र समर्पणका कारण नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्वदेशमा मात्र होइन, संयुक्त राष्ट्रसंघका शान्ति स्थापना अभियानमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको प्रतिष्ठा र गौरवलाई उच्च स्थानमा पुर्‍याएको छ । त्यसैले नेपाली सेना र राष्ट्रिय सुरक्षा निकायको सम्मान गर्नु कुनै व्यक्ति वा संस्थाको सम्मान मात्र होइन; यो राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा र राष्ट्रिय गौरवको सम्मान गर्नु हो । अन्ततः सैनिकको सबैभन्दा ठूलो शक्ति उसको हतियार नभइ राष्ट्र र जनताप्रतिको अटल कर्तव्यबोध, अनुशासन, नैतिक साहस र समर्पण हो । यही मूल्यले नेपाली सेनालाई नेपालको अन्तिम सुरक्षा कवचका रूपमा दृढ, विश्वसनीय र सम्मानित संस्था बनाएको छ ।

नेपाली सेना तथा राष्ट्रिय सुरक्षा निकायको बहुआयामिक भूमिका
राष्ट्रको सुरक्षा कुनै एक संस्थाको मात्र जिम्मेवारी होइन । नेपालको राष्ट्रिय सुरक्षा प्रणाली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सम्बन्धित राज्य संयन्त्रबीचको समन्वय, विश्वास र सहकार्यमा आधारित छ । प्रत्येक सुरक्षा निकायको ऐन कानुन अनुसार आफ्नो विशिष्ट कार्यक्षेत्र र जिम्मेवारी भए पनि सबैको साझा उद्देश्य राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, शान्ति, विधिको शासन र नागरिकको सुरक्षा सुनिश्चित गर्नु हो ।
संकट र विपत्तिमा नेपाली सेनाको नेतृत्वदायी भूमिका नेपालको संविधान र प्रचलित कानुनबमोजिम नेपाली सेनाले राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षाको रक्षा गर्ने महत्वपूर्ण संवैधानिक जिम्मेवारी वहन गर्छ ।

विशेषगरी राष्ट्रिय सुरक्षा तथा गम्भीर संकट र विपद्को अवस्थामा नेपाली सेनाले आफ्नो विशिष्ट क्षमता, संगठनात्मक संरचना, अनुशासन, स्रोत साधन र तत्काल परिचालन क्षमताका आधारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । नेपाली सेनाको भूमिका सीमाको सुरक्षा वा सम्भावित बाह्य सुरक्षा आन्तरिक द्वन्द तथा सुरक्षाको परिस्थिति बिग्रेको खण्डमा प्रहरी प्रशासनलाई ऐन बमोजिम सहयोग गर्ने कार्यमा मात्र  सीमित छैन । भूकम्प, बाढी, पहिरो, आगलागी, महामारी तथा अन्य राष्ट्रिय विपद्का समयमा खोज तथा उद्धार, राहत, पुनर्स्थापना र मानवीय सहयोगमा सेनाले अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्दै आएको छ । राष्ट्रिय महत्वका विकास निर्माण तथा रणनीतिक पूर्वाधार निर्माणमा समेत संविधान र कानुनबमोजिम सेनाको योगदान रहँदै आएको छ ।

त्यसैगरी, संयुक्त राष्ट्रसंघका शान्ति स्थापना अभियानमा नेपाली सेनाले दशकौँदेखि अनुशासित, व्यावसायिक र विश्वसनीय भूमिका निर्वाह गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा गौरव र सम्मान दिलाएको छ । यसले नेपाली सेनाको व्यावसायिक क्षमता राष्ट्रिय सुरक्षासँगै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा समेत महत्वपूर्ण रहेको प्रमाणित गरेको छ साथै अन्य सुरक्षा निकायको सक्रिय सहयोगी भूमिका राष्ट्रिय सुरक्षा र संकट व्यवस्थापनमा नेपाली सेनाको नेतृत्वदायी भूमिकासँगै अन्य सुरक्षा निकायको सक्रिय सहयोगी भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । नेपाल प्रहरीले दैनिक शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने, कानुन कार्यान्वयन गर्ने र नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षा गर्ने प्रमुख जिम्मेवारी निर्वाह गर्छ । सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, संवेदनशील क्षेत्र तथा महत्वपूर्ण संरचनाको सुरक्षा, विपद् व्यवस्थापन, दंगा नियन्त्रण तथा आवश्यकता अनुसार विगतमा भएको आन्तरिक द्वन्द, तथा द्वन्द पश्चातको संवेदनशील सुरक्षा परिवेशमा सुरक्षा सम्बन्धी विशेष परिचालन तराई आन्दोलन लगायत निर्वाचन सुरक्षा र विभिन्न आन्तरिक सुरक्षा तथा राज्यबाट प्रदत्त अन्य जिम्मेवारी  निर्वाह गर्दै आएको छ ।

राष्ट्रिय अनुसन्धान विभागले राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचना संकलन, विश्लेषण तथा आवश्यक सुरक्षा सूचना उपलब्ध गराएर राज्यको सुरक्षा प्रणालीलाई सुदृढ बनाउन योगदान पुर्‍याउँ दै आएको छ । राष्ट्रिय संकट वा विपद्को समयमा यी सबै सुरक्षा निकायले आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारीअनुसार नेपाली सेनासँग समन्वय र सहकार्य गर्दै नागरिकको जीवन रक्षा, उद्धार, राहत तथा शान्ति सुरक्षा कायम गर्न सक्रिय सहभागिता र भूमिका निर्वाह गर्छन् । त्यसैले नेपाली सेना तथा अन्य सुरक्षा निकायबीचको आपसी समन्वय, सहकार्य, जिम्मेवारीको स्पष्टता र परस्पर सम्मान नै राष्ट्रिय सुरक्षाको बलियो आधार हो। यही भूमिका कार्य विभाजन र समन्वयले नेपालको समग्र सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउँछ । त्यसैले कुनै एक सुरक्षा निकायको योगदान अर्कोको विकल्पका रूपमा हेर्नु उचित हुँदैन । नेपाली सेनाको नेतृत्वदायी क्षमता र अन्य सुरक्षा निकायको सक्रिय सहयोगी भूमिका एकअर्काका पूरक हुन् ।

यी संस्थाबीच उच्च मनोबल, व्यावसायिकता, पारस्परिक सम्मान, सूचना आदान प्रदान र प्रभावकारी समन्वय कायम रहन सके मात्र राष्ट्रिय सुरक्षा अझ दरिलो र भरपर्दो बन्न सक्छ । अन्ततः राष्ट्रको सुरक्षा बलियो बनाउनु भनेको केवल सुरक्षा निकायलाई बलियो बनाउनु होइन; उनीहरूलाई आफ्नो जिम्मेवारी स्पष्ट रूपमा, समन्वयात्मक ढङ्गले र उच्च मनोबलका साथ निर्वाह गर्न सक्षम बनाउनु हो । राष्ट्रिय सुरक्षा तथा संकटको घडीमा संविधान अर्थात् कानुनअनुसार नेपाली सेनाको नेतृत्वदायी भूमिका, अन्य सुरक्षा निकायको सक्रिय सहभागिता र सहयोग तथा सम्पूर्ण राज्य संयन्त्रको समन्वय नै संकटको समयमा राष्ट्रलाई दृढतापूर्वक उभ्याउने महत्वपूर्ण आधार हुन् ।

सुरक्षा निकायको मनोबल, कानुनी संरक्षण कल्याणकारी सुविधा,सम्मान र राज्यको दायित्व
राष्ट्रको सुरक्षा केवल सेना र सुरक्षा निकायको मात्र दायित्व होइन; उनीहरूले आफ्नो संवैधानिक जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न सक्ने वातावरण निर्माण गर्नु राज्य, संसद, सरकार, राजनीतिक दल, निजामती प्रशासन, सञ्चारमाध्यम, नागरिक समाज र सम्पूर्ण नागरिकको साझा दायित्व हो। संविधानले नेपाली सेना तथा अन्य सुरक्षा निकायलाई राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, शान्ति र जनताको संरक्षणजस्ता अत्यन्त संवेदनशील जिम्मेवारी प्रदान गरेको छ। त्यसैले यी संस्थाहरूको व्यावसायिक क्षमता, उच्च मनोबल र संस्थागत सुदृढीकरणलाई राष्ट्रिय सुरक्षाको अभिन्न आधारका रूपमा हेर्नुपर्छ। धेरै लोकतान्त्रिक राष्ट्रहरूले आफ्नो सेना र सुरक्षा निकायको उच्च मनोबल, व्यावसायिकता तथा राष्ट्रिय सुरक्षा सुदृढ बनाउन विशेष कानुनी संरक्षण, सेवा सुविधा, परिवार कल्याण तथा संस्थागत व्यवस्था गरेका छन्। यसको अर्थ उनीहरू कानुनभन्दा माथि छन् भन्ने होइन। उनीहरू पनि संविधान र कानुनकै अधीनमा रहन्छन्, तर राष्ट्रका लागि निर्वाह गर्ने विशिष्ट दायित्व, जोखिम र त्यागलाई ध्यानमा राखी विशेष कानुन तथा सुविधा र संरक्षणको व्यवस्था गरिएको हुन्छ।

संयुक्त राज्य अमेरिकामा सैनिकका लागि Uniform Code of Military Justice (UCMJ), TRICARE स्वास्थ्य सेवा, GI Bill, परिवार कल्याण तथा पूर्वसैनिक सुविधा उपलब्ध छन् । बेलायतमा Armed Forces Covenant अन्तर्गत स्वास्थ्य, शिक्षा, आवास तथा पुनर्स्थापनाको विशेष व्यवस्था गरिएको छ। भारतमा छुट्टै सेवा ऐन, Canteen Stores Department (CSD), ECHS स्वास्थ्य सेवा, पूर्वसैनिक कल्याण तथा शहीद परिवार सहायता कार्यक्रम सञ्चालनमा छन् । सिङ्गापुर, इजरायल, फ्रान्स, जर्मनी, क्यानडा र अष्ट्रेलियालगायतका देशहरूले सैनिक तथा पूर्वसैनिकको विशिष्ट सेवा, जोखिम र त्यागलाई सम्मान गर्दै स्वास्थ्य, बीमा, पुनर्स्थापना, परिवार कल्याण तथा अन्य विशेष सेवा सुविधाको व्यवस्था गरेका छन् । नेपालले पनि आफ्नो आर्थिक क्षमता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राख्दै यस्ता व्यवस्था क्रमशः विस्तार र समयानुकूल सुधार गर्दै लैजानुपर्छ । राष्ट्रका लागि जीवन जोखिममा राखेर सेवा गर्ने सैनिक तथा सुरक्षाकर्मी र उनीहरूका परिवारको सुरक्षा, स्वास्थ्य र सम्मानमा गरिएको लगानी खर्च होइन राष्ट्रिय सुरक्षा र उच्च मनोबलमा गरिएको दीर्घकालीन रणनीतिक लगानी हो । राज्यले आज आफ्ना सुरक्षाकर्मीको मनोबल जति उच्च राख्न सक्छ, संकटको घडीमा राष्ट्र त्यति नै दृढ र सुरक्षित भएर उभिन सक्छ । त्यस्तै नेपाली सेना तथा अन्य राष्ट्रिय सुरक्षा निकायको सबैभन्दा ठूलो विशेषता अधिकारभन्दा कर्तव्यलाई सर्वोपरि मान्ने राष्ट्रसेवाको भावना हो ।

सैनिक जीवनको आधारभूत तालिमदेखि नै ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने आदर्श सैनिकको जीवनदर्शनका रूपमा स्थापित गरिन्छ। यही संस्कारले सैनिकलाई व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितलाई सर्वोपरि राख्न प्रेरित गर्छ । आजको पुस्ता स्मार्ट प्रविधि र सुविधामुखी वातावरणमा हुर्किरहेको छ । यस्तो समयमा कठोर अनुशासन, कठिन परिश्रम, निरन्तर प्रशिक्षण, जोखिमपूर्ण सेवा, परिवारबाट लामो समय टाढा रहने जीवन, चाडपर्वको त्याग तथा आवश्यक पर्दा राष्ट्र र जनताको सुरक्षाका लागि आफ्नो जीवनसमेत समर्पण गर्ने व्यक्तित्व वास्तवमै विशिष्ट हुन्छ । त्यसैले नेपाली सेना तथा राष्ट्रिय सुरक्षा निकायमा सेवा गर्ने प्रत्येक सदस्यको त्याग, समर्पण र राष्ट्रभक्तिको सम्मान गर्नु सम्पूर्ण समाजको दायित्व हो । यही सैनिक संस्कार, अनुशासन र व्यावसायिकताका कारण नेपाली सेना तथा अन्य राष्ट्रिय सुरक्षा निकायले स्वदेशमा मात्र होइन, संयुक्त राष्ट्रसंघका शान्ति स्थापना अभियानमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको प्रतिष्ठा र गौरवलाई उच्च स्थानमा पुर्‍याएको छ, यो उपलब्धि सम्पूर्ण नेपालको राष्ट्रिय गौरव हो ।

लोकतन्त्रमा स्वतन्त्रता र जिम्मेवारी पनि उत्तिकै आवश्यक
लोकतान्त्रिक व्यवस्थामा विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको संवैधानिक अधिकार हो। आलोचना, बहस, असहमति र वैकल्पिक दृष्टिकोण लोकतन्त्रका आधारभूत विशेषता हुन् । तर राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा सार्वजनिक रूपमा व्यक्त गरिने अभिव्यक्ति हल्का फितला हुनु हुँदैन तथ्यमा आधारित, जिम्मेवार र राष्ट्रिय हितप्रति सचेत हुनु उत्तिकै आवश्यक हुन्छ । विभिन्न सार्वजनिक बहस तथा कार्यक्रममा डा. सी.के. राउतजस्ता देश विदेशमा अध्ययन गरेका विद्वान तथा जिम्मेवार राजनीतिक व्यक्तित्वबाट ‘देश गयो भने नेपाली सेनाकै कारण जान्छ’ भन्ने अभिव्यक्ति आउनु अत्यन्त संवेदनशील र देशप्रेमी नागरिकका लागि पीडादायक विषय हो । राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको यस्तो अभिव्यक्तिले नेपाली सेना तथा राष्ट्रिय सुरक्षा संस्थाप्रतिको जनविश्वास र मनोबलमा पार्न सक्ने प्रभावबारे गम्भीर रूपमा सोच्नुपर्ने हुन्छ ।

लोकतन्त्रमा विचार राख्ने स्वतन्त्रता भए पनि राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा जिम्मेवार व्यक्तिबाट आउने अभिव्यक्ति तथ्य, विवेक र राष्ट्रिय हितप्रति पूर्ण सचेत हुन आवश्यक छ । त्यसैगरी, अन्य विभिन्न राजनीतिक व्यक्तित्वबाट बेला बेलामा ‘नेपाली सेना चाहिँदैन’, ‘सेनाको संख्या घटाउनुपर्छ’ जस्ता अभिव्यक्ति सार्वजनिक हुने गरेका छन् । यस्ता अभिव्यक्तिले कुनै सीमित समुदाय वा निर्वाचन क्षेत्रमा केही समयका लागि सस्तो लोकप्रियता, वाहवाही वा मतसमर्थन दिलाएजस्तो देखिए पनि दीर्घकालीन रूपमा नेपाली सेना तथा राष्ट्रिय सुरक्षा संस्थाप्रति आम नागरिकको विश्वास कमजोर पार्ने, राष्ट्रप्रतिको समर्पण र सम्मानको भावना घटाउने, सुरक्षा संस्थाको मनोबलमा प्रतिकूल असर पार्ने तथा समग्र राष्ट्रिय सुरक्षालाई समेत कमजोर बनाउन सक्ने सम्भावना रहन्छ ।

यदि कुनै अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता वा सार्वजनिक सुरक्षामा गम्भीर असर पार्ने अवस्था सिर्जना गर्छ भने त्यसको मूल्याङ्कन प्रचलित संविधान र कानुनबमोजिम हुनुपर्छ । आवश्यक परे राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षा परिषदमा छलफल तथा समयानुकूल कानुनी सुधारबारे पनि राज्यले गम्भीर चिन्तन गरी संरक्षणको लागि उचित व्यवस्था गर्न सक्नुपर्छ । त्यसैले कुनै पनि राजनीतिक वा सार्वजनिक अभिव्यक्तिको मूल्याङ्कन व्यक्तिको राजनीतिक विचार, दल वा पहिचानका आधारमा होइन; त्यसले राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता, सामाजिक सद्भाव, संवैधानिक संस्थाप्रतिको जनविश्वास र दीर्घकालीन राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावका आधारमा गरिनुपर्छ। लोकतन्त्रको वास्तविक शक्ति र सुन्दरता स्वतन्त्र अभिव्यक्तिमा मात्र होइन, जिम्मेवार अभिव्यक्तिमा पनि निहित हुन्छ ।

राष्ट्रिय सुरक्षा सबै नेपालीको साझा दायित्व
राष्ट्रिय सुरक्षा केवल सेना, प्रहरी वा सरकारको जिम्मेवारी होइन । यो प्रत्येक नागरिक, राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारमाध्यम, नागरिक समाज, शैक्षिक संस्था तथा सम्पूर्ण राज्य संयन्त्रको साझा दायित्व हो । राष्ट्रिय एकता, सामाजिक सद्भाव, जिम्मेवार राजनीतिक संस्कृति, विधिको शासन, सक्षम कूटनीति, आर्थिक सबलता तथा संवैधानिक संस्थाप्रतिको जनविश्वास जति सुदृढ हुन्छ, राष्ट्रिय सुरक्षा पनि त्यति नै मजबुत बन्छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र हो । यही विविधतालाई विभाजनको आधार होइन, एकताको र आर्थिक समृद्धिको शक्तिका रूपमा रूपान्तरण गर्नु आजको सबैभन्दा ठूलो राष्ट्रिय आवश्यकता हो । राजनीतिक प्रतिस्पर्धा स्वाभाविक हो, तर राष्ट्रहितभन्दा माथि कुनै दल, समूह वा व्यक्तिको स्वार्थ हुन सक्दैन । राष्ट्र सुरक्षित भए मात्र लोकतन्त्र सुरक्षित रहन्छ; लोकतन्त्र सुरक्षितभए मात्र विकास सम्भव हुन्छ; र विकास सम्भव भए मात्र समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा हुन सक्छ ।

निष्कर्ष
राष्ट्रिय सुरक्षा कुनै दल, सरकार वा सुरक्षा निकायको विषय मात्र नभइ यो राष्ट्रको अस्तित्व, स्वतन्त्रता, लोकतन्त्र र भावी पुस्ताको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको राष्ट्रिय दायित्व हो । राष्ट्रिय हितभन्दा माथि कुनै राजनीतिक दल, विचार, व्यक्ति वा क्षणिक लोकप्रियता हुन सक्दैन । त्यसैले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा सार्वजनिक अभिव्यक्ति दिँदा प्रत्येक राजनीतिक नेतृत्व, जनप्रतिनिधि, सार्वजनिक व्यक्तित्व, सञ्चारमाध्यम र नागरिक समाजले उच्च जिम्मेवारी, संयमता र राष्ट्रहितप्रतिको प्रतिबद्धता प्रदर्शन गर्नुपर्छ।नेपाली सेना तथा अन्य सुरक्षा निकाय संविधान र कानुनको अधीनमा रही राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको सुरक्षाका लागि चौबीसै घण्टा समर्पित रहने संस्थाहरू हुन् । उनीहरूको सबैभन्दा ठूलो शक्ति हतियार मात्रै नभइ राष्ट्रप्रतिको कर्तव्यबोध, अनुशासन, नैतिक साहस, त्याग र समर्पण हो । त्यसैले उनीहरूको व्यावसायिक मनोबल उच्च राख्नु, उचित सम्मान, आवश्यक स्रोतसाधन, न्यायोचित सेवा सुविधा र कानुनी संरक्षण उपलब्ध गराउनु कुनै विशेष सुविधा प्रदान गर्नु होइन; यो राष्ट्रको सुरक्षा क्षमता सुदृढ बनाउने दूरदर्शी राष्ट्रिय लगानी हो ।

इतिहासले बारम्बार देखाएको छ जब सुरक्षा संस्थाहरू कमजोर हुन्छन्, राज्य संयन्त्र कमजोर बन्छ; जब राज्य कमजोर हुन्छ, लोकतन्त्र पनि दीर्घकालसम्म सुरक्षित रहन सक्दैन। त्यसैले बलियो लोकतन्त्रको आधार बलियो राष्ट्रिय सुरक्षा हो, र बलियो राष्ट्रिय सुरक्षाको आधार उच्च मनोबल भएको व्यावसायिक सेना तथा सुरक्षा निकाय हो । हामीले सधैँ सम्झनुपर्छ राष्ट्र सुरक्षित भए मात्र लोकतन्त्र सुरक्षित रहन्छ; लोकतन्त्र सुरक्षित भए मात्र विकास, समृद्धि र नागरिक स्वतन्त्रता दीर्घकालसम्म सुरक्षित रहन्छ । त्यसैले राष्ट्रिय एकता सुदृढ बनाउने, राष्ट्रिय हितलाई सर्वोपरि राख्ने, सुरक्षा संस्थाप्रति जनविश्वास अभिवृद्धि गर्ने र राष्ट्रको मनोबल कमजोर बनाउने आधारहीन तथा विभाजनकारी अभिव्यक्तिबाट टाढा रहने राजनीतिक संस्कृतिको विकास गर्नु आजको अपरिहार्य राष्ट्रिय आवश्यकता हो ।

सुरक्षित, एकताबद्ध, अनुशासित र आत्मविश्वासी नेपाल निर्माणका लागि राष्ट्रिय हित सर्वोपरि, राष्ट्रिय एकता आधार, र नेपाली सेनासहित सबै सुरक्षा निकायको उच्च मनोबल हाम्रो साझा राष्ट्रिय संकल्प बन्नुपर्छ । राष्ट्रको सुरक्षा कमजोर पारेर लोकतन्त्र बलियो रहन सक्दैन । त्यसैले राजनीतिक नेतृत्वदेखि प्रत्येक नागरिकसम्म राष्ट्रिय सुरक्षाप्रति जिम्मेवार, संयमित र एकताबद्ध बन्नु आजको सर्वोच्च राष्ट्रिय कर्तव्य हो । यही चेतना, यही अनुशासन र यही संकल्पले समृद्ध, सुरक्षित र स्वाभिमानी नेपालको स्थायी मार्ग निर्माण गर्नेछ ।

(सशस्त्र प्रहरी बल नेपालका पूर्व महानिरीक्षक श्रेष्ठ हिमालयन सिद्ध महायोग आध्यात्मिक प्रतिष्ठानका उपाध्यक्ष, सांस्कृतिक सम्पत्ति संरक्षणका विज्ञ तथा करिब डेढ दशकदेखि आध्यात्मिक, सांस्कृतिक र सामाजिक रूपान्तरणका विविध अभियानमा सक्रिय समाजसेवी व्यक्तित्व हुन्।)