काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता धवलशम्सेर राणाले राष्ट्रवादी नेता दुर्गा प्रसाईको पक्राउको विरोध गर्दै उनको तत्काल रिहाइको माग गरेका छन् ।
विज्ञप्ति जारी गरी राणाले आलोचना, फरक मत तथा अभिव्यक्ति लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको उल्लेख गर्दै नागरिकप्रति सरकारको जवाफदेहिता र लोकतान्त्रिक सन्तुलनका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता अनिवार्य रहेको बताएका हुन् ।
उनले पछिल्ला दिन देशका केही क्षेत्रमा देखिएको आपसी द्वन्द्व, झडप, आगजनी तथा जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र सहिष्णुता जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन्। नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्नु, दिगो शान्ति कायम गर्नु तथा सरकारको जवाफदेहितामाथि निगरानी राख्नु नागरिकको अधिकार र कर्तव्य दुवै भएको उनको भनाइ छ।
राणाले संविधानप्रदत्त विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेकै कारण दुर्गा प्रसाईलाई गएराति निवासबाट पक्राउ गरिएको दाबी गर्दै उक्त कदमको निन्दा गरेका छन्। उनले प्रसाईलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।


प्रतिक्रिया