बालेनले मात्र देश बनाउँछन् भनेर ढुक्क नहुनु रविजी !


नारायण पौडेल ।

रवि लामिछानेजीले मृत आमाको आत्मालाई बालेनले देश बनाउँछ भनेर ढुक्क बनाएपनि, बालेन स्वयमले ढुक्क हुनुहोस् भनेर लेखेपनि–ढुक्क रहने स्थिति छैन । देश त पुर्खाले बनाएकै थिए, बनाउने भनेको विकास होला । विकास हुँदै गर्ला–हुँदैछ– पहिला देशलाई बचाउँँ । भदौ २३ मध्यान्हसम्म देशमा त्यो तहको भयावह स्थिति आउला भन्ने सोचिएको थिएन । फेरि कस्तो स्थिति सृजना गर्न खोजिएको, भेउ पाएजस्तो लाग्दैन । मधेशमूलकै व्यक्ति प्रधानमन्त्री हुनु, प्रधानमन्त्री बन्नु अघि शक्तिपीठको दर्शन गरि धार्मिक मतलाई आकर्षित गर्नु, प्रधानमन्त्री कार्यालयमा मुश्लिम व्यक्तिको प्रभावकारी भूमिका रहनु तर मधेशको संवेदनशीलता नबुझेजस्तो देखिनु शुभ संकेत होइन ।

गृहजस्तो संवेदनशील मन्त्रालयमा उही विवादस्पद ब्यक्ति हरहालतमा ल्याउनै पर्ने बालेनको बाध्यतासँगै दृश्य छर्लङ्गै थियो । तर, यति छिटो यस्तो असंवेदनशीलता प्रकट होला भन्ने थिएन ।

सामाजिक सुरक्षासँग सम्बन्धित सर्वदलीय बैठकमा सरकारको प्रतिनिधिकोरुपमा अर्थमन्त्री सहभागी भएको भनेर स्वंयम् सत्तारुढ पार्टीको सभापतिले रफ्फु भर्नुपर्ने स्थिति देखिएको छ । बजेटसँग सम्बन्धित बैठकमा गृहमन्त्री जाने होलान् फेरि ? आकस्मिक उपचारमा रहेका बिरामीको उपचार यसरी गर्नु उसरी गर्नु भनेर मेडिकलसँग असम्बन्धित मन्त्रीले एप्रोन लगाएर अस्पतालमै डाक्टरलाई निर्देशन दिएको देखिएकै हो ।

पदमा हुँदा पदासिन भइन्छ, पदमा आसिन हुँदैन कोही नेता हुँदैन । Leadership / Position–ship अलग कुरा हुन् । स्टेटम्यानसिप र स्टारडर्मको भेद बन्द कोठामा समेत कालो चश्मा लगाउनेहरुले छिट्टै खुटाउन् ।