रोयटर्स । इलोन मस्कको कम्पनी स्पेसएक्सले अमेरिकी स्पेस फोर्सबाट सन् २०२७ सम्म पेन्टागनका उपग्रह प्रक्षेपण गर्न १८ वटा फाल्कन–९ मिसन सञ्चालन गर्ने १.६ अर्ब अमेरिकी डलर बराबरको ठेक्का प्राप्त गरेको छ।
स्पेस फोर्सले बुधबार सार्वजनिक गरेको जानकारीअनुसार उक्त १८ मिसन दुई कार्यादेशमार्फत स्पेसएक्सलाई प्रदान गरिएको हो। यी उपग्रहहरू हवाई लक्ष्य पहिचान तथा निगरानीका लागि प्रयोग हुनेछन्।
यो ठेक्का अमेरिकी स्पेस फोर्सको प्रमुख प्रक्षेपण खरिद कार्यक्रमअन्तर्गत प्रदान गरिएको हो, जहाँ स्पेसएक्स, युनाइटेड लन्च एलायन्स, ब्लु ओरिजिन लगायतका अमेरिकी कम्पनीहरू सरकारी अन्तरिक्ष मिसनका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
ट्रम्प प्रशासनले करिब १८५ अर्ब डलर लागतको ‘गोल्डेन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली निर्माणको तयारी गरिरहेका बेला स्पेसएक्सले यस वर्ष मात्रै पेन्टागनबाट कम्तीमा ७ अर्ब डलर बराबरका ठेक्का हात पारेको छ।
यसअघि मे महिनामा पनि स्पेसएक्सले अमेरिकी स्पेस फोर्सबाट ६.५ अर्ब डलर बराबरका उपग्रहसम्बन्धी ठेक्का जितेको थियो। त्यसमध्ये ४.१६ अर्ब डलर हवाई लक्ष्य पहिचान गर्ने उपग्रह सञ्जालका लागि र २.२९ अर्ब डलर क्षेप्यास्त्र चेतावनी तथा ट्र्याकिङ प्रणालीका सञ्चार उपग्रहका लागि छुट्याइएको थियो।
स्पेस फोर्सका खरिद अधिकारी एरिक जारिब्निस्कीका अनुसार पछिल्लो ठेक्का ‘अभूतपूर्व दुई महिनाको खरिद प्रक्रिया’ अन्तर्गत सम्पन्न गरिएको हो। निजी क्षेत्रबाट अन्तरिक्ष यान र रकेट प्रक्षेपण सेवा खरिदको गति बढाउने प्रयासमा स्पेस फोर्स रहेको उनले बताए।
यता, बोइङ र लकहिड मार्टिनको संयुक्त कम्पनी युनाइटेड लन्च एलायन्स भने आफ्नो भल्कन रकेटको बुस्टर छुट्टिने प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण लामो समयदेखि अनुसन्धानको सामना गरिरहेको छ।

प्रतिक्रिया