जोर्डनस्थित अमेरिकी अड्डामाथि आक्रमणपछि इरानमा अमेरिकी हवाई हमला


बीबीसी । मध्यपूर्वमा रहेका आफ्ना सैनिकमाथि भएको भनिएको आक्रमण प्रयासको प्रतिशोधस्वरूप अमेरिकाले इरानमाथि नयाँ हवाई आक्रमण सुरु गरेको जनाएको छ।

अमेरिकी सेनाको मध्य कमाण्ड (सेन्टकम) ले एक्समार्फत जारी गरेको वक्तव्यमा मंगलबार जोर्डनस्थित अमेरिकी सैन्य अड्डा र होर्मुज जलडमरूमध्यमा रहेका जहाजहरूलाई इरानले निशाना बनाएपछि त्यसको जवाफस्वरूप ‘शक्तिशाली’ हवाई हमला गरिएको जनाएको हो।

यसअघि अमेरिका र साउदी अरेबियाले इरान समर्थित इराकस्थित समूहहरूलाई संयुक्त रूपमा लक्षित गरी हवाई आक्रमण गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ।

फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध केही सातामै अन्त्य हुने बताएका थिए। तर पाँच महिना बितिसक्दा पनि द्वन्द्व अन्त्य हुने संकेत देखिएको छैन।

एक्सियोसका अनुसार ट्रम्पले बुधबार साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमानसँग भेट गरेका थिए। भेटमा साउदी अरेबियाले क्षेत्रीय तनाव कम गर्न चाहेको सन्देश दिइएको बताइएको छ। यसबारे ह्वाइट हाउसले औपचारिक प्रतिक्रिया दिएको छैन।

केही दिनको तुलनात्मक शान्तिपछि पुनः द्वन्द्व चर्किएको हो। दुवै पक्षले केही समय आक्रमण रोकेर कूटनीतिक समाधान खोज्ने प्रयास भइरहेको संकेत देखिएको थियो। ट्रम्पले ती वार्तालाई “धेरै मैत्रीपूर्ण” भने पनि तेहरानले कुनै वार्ता नभएको दाबी गरेको छ।

हवाई आक्रमण घोषणा हुनुअघि ट्रम्पले अमेरिकी सैनिकमाथिको इरानी आक्रमण प्रयासको कडा प्रतिशोध लिने चेतावनी दिएका थिए। उनले ह्वाइट हाउसमा सञ्चारकर्मीसँग भने, ‘अब हाम्रो पालो हो, हामी उनीहरूमाथि निकै कडा प्रहार गर्नेछौं।’

यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी आक्रमणको जवाफस्वरूप जोर्डनस्थित अमेरिकी हवाई अड्डा र कमाण्ड सेन्टरलाई निशाना बनाएको दाबी गरेको छ। साथै होर्मुज जलडमरूमध्यमा चेतावनी बेवास्ता गरेका तीन तेल ट्यांकरमाथि पनि आक्रमण गरेको जनाएको छ।

गत शुक्रबार ट्रम्पले लगातार १३ रातसम्म चलेको बमबारी अभियान स्थगित गरेका थिए। अमेरिकाले त्यस क्रममा इरानका सैन्य अड्डा र हतियार भण्डारणस्थललाई लक्षित गरेको जनाएको थियो।

यसैबीच, सेन्टकमले मंगलबार अमेरिका–साउदी संयुक्त आक्रमणमा पूर्वी इराकका इरान समर्थित समूहका रसद र हतियार भण्डारणस्थल ध्वस्त पारिएको जनाएको छ। सेन्टकमका अनुसार पछिल्लो ७२ घण्टामा आईआरजीसीको निर्देशनमा भएका ३० भन्दा बढी ड्रोन आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको हो।

इरान समर्थित शिया मिलिसियाको प्रभाव रहेको इराकको पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले अमेरिकी–साउदी आक्रमणमा आफ्ना कम्तीमा २० सदस्य मारिएको जनाएको छ।

इराकी राष्ट्रपतिले पीएमएफका अड्डामाथिको बमबारीको निन्दा गर्दै यसलाई इराकको सार्वभौमिकतामाथिको स्पष्ट उल्लंघन भएको बताएका छ