तनुजा पाण्डे ।
गृहमन्त्री सुदन गुरुङज्यू, हिजो मध्यराति सुनसरीमा गोली चलेर एक जना नागरिकको ज्यान गयो र दर्जानौँ घाइते भए, यसको नैतिक र प्रशासनिक जिम्मेवारी कसले लिने ? भदौ २३ मा संसद भवनअगाडि अकारण गोली चलाउने घटना होस् या हिजो राति सुनसरीमा नागरिकको ज्यान लिने काम, यी दुवै घटना राज्यसत्ताको एउटै दमनकारी मानसिकताका उपज हुन् । नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्व बोकेको गृह प्रशासनको नेतृत्वमा तपाईं हुनुहुन्छ, तर स्थिति नियन्त्रणमा लिन अन्य उपायहरू हुँदाहुँदै सीधै गोली ठोक्ने अवस्था आउनुले तपाईंको गृह प्रशासन र कमाण्ड एण्ड कन्ट्रोल पूर्ण रूपमा असफल भएको प्रस्ट पार्छ ।
नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनुको साटो आफ्नै सरकारसँग डराउनुपर्ने यो कुन प्रकारको शासन हो ? भदौ २३ को गम्भीर गल्तीबाट पाठ सिक्नुको साटो उस्तै शैलीमा मध्यराति नागरिकमाथि गोली चलाउनुले गृह प्रशासनको पूर्वतयारी र सुरक्षा रणनीतिमा ठूलो खोट रहेको देखाउँछ। कस्तो परिस्थिति निर्माण भएको थियो र कसको आदेशमा सीधै घातक बल प्रयोग गरियो, यसको तथ्यपरक र स्पष्ट जवाफ गृह मन्त्रालयले अविलम्ब दिनुपर्छ ।
सुरक्षा निकायलाई न्यूनतम बल प्रयोगको सिद्धान्तमा अभ्यस्त गराउनुको सट्टा सीधै नागरिकमाथि गोली बर्साउने अवस्था आउनु गृह मन्त्रालयको गम्भीर नेतृत्वगत असफलता हो । भदौ २३ देखि सुनसरी काण्डसम्म आइपुग्दा राज्यसत्ताले नागरिकको ज्यानलाई यति सस्तो सम्झिनु र आफ्ना सुरक्षा बललाई संयमित बनाउन नसक्नुले गृह प्रशासनको नियतमाथि नै प्रश्न उठाएको छ। गृहमन्त्रीज्यू, आफ्नै प्रशासनको यो असफलता र दमनकारी सोचको सोझो जवाफ दिनुहोस्, सुरक्षा निकायलाई संयमित बनाउन छाडेर राज्यले यसरी नै नागरिकमाथि गोली बर्साइरहने हो ?

प्रतिक्रिया