काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षले गरेको सत्ता गठबन्धनको सहमतिलाई विजय मल्लको नाटक ‘अन्तिम भोज’जस्तै भएको बताएका छन् । सामाजिक संजालमार्फत बास्कोटाले खास नेता बाहेक अरुले सुइँको समेत नपाउने गरी सहमति गरिएको भन्दै यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘सता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए । खोपी सत्ता किन बन्छन् र भत्कन्छन् ? ती सभाका केही सदस्य र खास नेताबाहेक अरुले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो । हाँडी बोकेर स्वर्ग कि नर्क बतासझैँ बत्तिएका छन् । विजय मल्लको अन्तिम भोज नै त यो हैन होला ?अचम्म,लाग्छ ।’
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन तथा सत्ता साझेदारीका विषयमा शनिबार तीन बुँदे सहमति भएको छ ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ । यस्तै, मधेश र गण्डकी प्रदेश मा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व तथा सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया