झिलीमिली बन्दै जनकपुरधाम


जनकपुरधाम । केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर क्षेत्रका सडक अहिले झिलीमिली उज्यालो भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले ‘उज्यालो जनकपुरधाम’ अभियानअन्तर्गत मुख्य सडक तथा गल्लीका खम्बामा हाइमास्ट र सेन्सरयुक्त सडकबत्ती जडान गरेपछि नगर क्षेत्र उज्यालो बनेको हो ।

जनकपुरधाम–४ का रोशन कर्णले केही महिनाअघिसम्म साँझ भएपछि सडकमा हिँडडुल गर्न समस्या हुने गरेको बताए । अहिले भने रातिको समयमा पनि सडक उज्यालो हुने भएकाले आफूहरू सुरक्षित महसुस गरिरहेको उनको भनाइ छ ।

सोही वडाका सहदेव साहका अनुसार पहिले अधिकांश खम्बामा बत्ती थिएनन्, भएका बत्ती पनि धेरैजसो नबल्ने अवस्थामा थिए । अहिले सडक उज्यालो भएपछि जुनसुकै समयमा निर्धक्क भएर आवतजावत गर्न सकिने भएको उनले बताए ।

साहले विगतमा अँध्यारोका कारण चोरी, लुटपाटजस्ता घटना हुने गरे पनि अहिले त्यस्ता घटनामा कमी आएको दाबी गरे । उनका अनुसार सडकबत्ती जडान भएपछि नगर क्षेत्रको सौन्दर्यसमेत बढेको छ । स्थानीयका अनुसार उपमहानगरपालिकाले विभिन्न विकास योजना कार्यान्वयन गरेसँगै जनकपुरधामको स्वरूप परिवर्तन हुँदै गएको छ ।

उपमहानगरपालिकाले ‘उज्यालो जनकपुरधाम’ अभियानअन्तर्गत नगरका सडक र गल्लीमा सडकबत्ती जडानलाई तीव्रता दिएको जनाएको छ ।

नगर प्रमुख मनोज साहले रेल्वे स्टेशनदेखि विमानस्थलसम्म, जानकी मन्दिरदेखि रामानन्द चोकसम्म तथा परिक्रमा मार्गमा ‘हाइमास्ट’ र सेन्सरयुक्त बत्ती जडान गरिएको बताए। बाँकी क्षेत्रमा पनि जडानको काम जारी रहेको उनले जानकारी दिए ।

विगतमा फोहर र अव्यवस्थित सहरका रूपमा चिनिने जनकपुरधाम पछिल्लो समय पूर्वाधार विकास र सरसफाइका कार्यक्रमसँगै आकर्षक बन्दै गएको छ ।