विराटनगर । मोरङको कानेपोखरीमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका चालकलाई प्रहरीले स्कार्पियो गाडीसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको सवारीसाधनले पथरीशनिश्चरे नगरपालिका–१० त्रिवेणीचोक निवासी ६० वर्षीय गोविन्द लिम्बुलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले सवारी ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी फरार चालकको खोजी थालेको थियो।
अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय पथरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले साउन ६ गते राति करिब १० बजे सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित हेभी इक्युपमेन्ट सडक डिभिजन कार्यालय परिसरमा लुकाएर राखिएको बा २ झ २२२६ नम्बरको स्कार्पियो फेला पारेको जनाएको छ।
सोही क्रममा स्कार्पियोका चालक सिरहाको सुखीपुर गाउँपालिका–८ का ४४ वर्षीय राम उद्गार मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा सवारीसाधनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चालक र स्कार्पियोलाई इलाका प्रहरी कार्यालय पथरी ल्याएर सवारी ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया