सिरहा । सिरहाको लहान नगरपालिका–३ नयाँबस्तीबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार अपराह्न लागूऔषध बोकेको पिकअप गाडी एक घरको कम्पाउण्डमा पार्किङ गरेर राखिएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले छापा मारेको थियो ।
प्रहरीले लहान–३ नयाँबस्तीस्थित श्यामकुमारी साहको घर अगाडिको कम्पाउण्डमा पार्किङ गरिएको बा.२१ च ५८६६ नम्बरको योद्धा पिकअप खानतलासी गर्दा पछाडिको भागमा नास्पातीका प्लास्टिक क्रेटमुनि लुकाएर राखिएका ३१ वटा बोराभित्र गाँजा फेला पारेको जनाएको छ ।
गाडीमा लागूऔषध लुकाउन नास्पातीका ४६ वटा क्रेट प्रयोग गरिएको थियो । घटनामा संलग्न रहेको आरोपमा लहान–३ की ३८ वर्षीया श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान–३ बस्दै आएका ४० वर्षीय गौरव महतो र उनका १९ वर्षीय छोरा शिवम साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया