काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले राजनीति प्रतिशोधको भावनाबाट माथि उठ्नुपर्ने बताएका छन् । स्वास्थ्य उपचारका क्रममा हाल विदेशमा रहेका पूर्वसभापति देउवाले आफू छिट्टै नेपाली भूमिमा फर्किने बताएका हुन् ।
उनले पछिल्लो समय मुलुकमा विकसित राजनीतिक घटनाक्रमप्रति चासो व्यक्त गरेका हुन् । उनले आफ्नो आठ दशक लामो राजनीतिक यात्रा र ६ दशकभन्दा लामो कांग्रेसको सक्रिय राजनीतिलाई स्मरण गर्दै लोकतन्त्र, संविधानवाद र जनताको अधिकारका पक्षमा आफ्नो अडान कहिल्यै विचलित नहुने स्पष्ट पारेका छन् ।
उनले उनले फरक विचारप्रति राज्यले देखाएको असहिष्णुता र राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने उल्लेख गरेका छन् । प्रतिपक्षलाई दबाउन भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रवृत्तिको विरोध गर्नु नै कांग्रेसको ऐतिहासिक दायित्व भएको उनले बताएका छन् ।
उनले भनेका छन्, ’म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु । सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदैछु ।’



प्रतिक्रिया