तयारी पोसाक उद्योगको विकासका लागि सरकारले सघाउने


काठमाडौँ । प्रधानमन्त्री बालेन साहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री साहले मंगलबार तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा यस्तो बताएका हुन् ।

उनले तयारी पोसाक उद्योगमा संलग्न व्यवसायीको हितमा सरकार सदैव ऐकबद्धता हुने प्रतिबद्धता जनाए । प्रधानमन्त्री साहले तयारी पोसाक उद्योगसँग सम्बद्ध व्यवसायीसँगको भेटपछि विभागीय मन्त्रीलाई तत्काल ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन गर्न निर्देशन दिएका छन् ।

तयारी पोसाक व्यवसायीले काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चापदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवद्र्धन र आयात व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरेका छन् ।

उद्योगी तथा व्यवसायीको माग बमोजिम प्रधानमन्त्रीले रुग्ण उद्योगलाई तत्काल सुचारु गर्न उद्योग मन्त्रालयलाई थप निर्देशन दिए ।

उनले निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआइ) ल्याउन तयारी पोसाक वस्तु अमेरिकामा रोकिएको र ‘टेस्टिङ सर्टिफिकेसन’ नभएकाले त्यसको बाटो खुलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् ।

‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ उद्देश्य पूरा गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरिने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन् ।

नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा पुर्याउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि तयारी पोशाक उद्योगले भोगिरहेका समस्या समाधान गर्न लागिपर्नेमा जोड दिए ।

छलफलमा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी थिए ।