निर्वाचन क्षेत्रमा जाँदा पार्टीलाई पूर्वसूचना दिन सांसदहरुलाई रास्वपाको निर्देशन


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई निर्वाचन क्षेत्र तथा अन्य जिल्लामा हुने भ्रमणलाई थप प्रभावकारी र व्यवस्थित बनाउन पाँच बुँदे निर्देशन जारी गरेको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ती जारी गरी सांसदहरूको क्षेत्रीय भ्रमणलाई केवल औपचारिक जनसम्पर्कमा सीमित नराखी पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, संगठन सुदृढ बनाउने र जनताका सुझावलाई संसदीय एजेन्डामा रूपान्तरण गर्ने अभियानका रूपमा सञ्चालन गर्न आग्रह गरेका हुन् ।

कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय भएपछि सम्बन्धित पार्टी समितिलाई अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्नेछ। आफ्नै निर्वाचन क्षेत्रबाहिर जाने कार्यक्रम भए सम्बन्धित सांसद तथा पार्टी संयन्त्रसँग आवश्यक समन्वय गर्न पनि निर्देशन दिइएको छ।

रास्वपाले स्थानीय समितिसँग पूर्वछलफल गरेर सम्बन्धित क्षेत्रका ज्वलन्त मुद्दा पहिचान गर्न, ती विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी प्राथमिकताका साथ अघि बढाउन तथा कार्यक्रम सञ्चालन गर्दा स्थानीय पार्टी संरचनाको नेतृत्व र अपनत्व सुनिश्चित गर्न पनि सांसदहरूलाई आग्रह गरेको छ।

त्यस्तै, भ्रमण तथा कार्यक्रमहरूलाई तडकभडक र अनावश्यक खर्चरहित बनाउँदै मितव्ययितालाई प्राथमिकता दिन तथा सुशासनको राजनीतिक सन्देश प्रवाह गर्न निर्देशन दिइएको छ।

श्री प्रतिनिधि सभा सदस्यज्यूहरू,
संघीय संसदीय दल,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)।
विषय: निर्वाचन क्षेत्रका नागरिकमाझ जाँदा रणनीतिक समन्वय, जन-संवाद एवं सांगठनिक सुदृढीकरण सम्बन्धमा।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोकेको सुशासन, जवाफदेहिता र नागरिक-केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न संघीय संसद् र भुइँ तहका नागरिकबीचको जीवन्त संवाद अपरिहार्य छ। निर्वाचन क्षेत्र तथा जिल्ला नागरिकहरूमाझ केवल औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरही, पार्टीको राजनीतिक दृष्टिकोणलाई विस्तार गर्ने, संगठनलाई ऊर्जावान् बनाउने र जन-अभिमतलाई संसद्‌को एजेन्डामा रूपान्तरण गर्ने ‘रणनीतिक अभियान’ बन्नुपर्दछ भन्ने पार्टीको स्पष्ट मान्यता छ। तसर्थ, यहाँहरूका हरेक भ्रमणलाई राजनीतिक रूपमा थप प्रभावकारी, संस्थागत र परिणाममुखी बनाउन देहाय बमोजिमका विषयहरूमा अनिवार्य समन्वय र सहकार्यका लागि हार्दिक अनुरोध गरिन्छ:

१. संस्थागत समन्वय र पूर्व-सूचना :
कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित समितिलाई आधिकारिक रूपमा जानकारी गराउनुहुन। सांसदहरु आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र पुग्ने कार्यक्रम भएमा सम्बन्धित सांसद तथा पार्टी संयन्त्रलाई सूचित तथा आवश्यक समन्वय गर्न गराउनुहुन।

२. स्थानीय मुद्दाको प्राथमिकीकरण :
भ्रमणका क्रममा आयोजना हुने अन्तर्क्रियाहरूमा स्थानीय समितिसँग पूर्व-छलफल गरी, त्यस क्षेत्रका विशिष्ट र ज्वलन्त मुद्दाहरू पहिचान गर्न। ती स्थानीय समस्याहरूलाई समाधानका लागि तत् तत् निकायसँग विधिवत् समन्वय गर्न कार्यसूचीमा प्राथमिकताका साथ समावेश गर्ने।

३. सांगठनिक अपनत्व र जन-परिचालन :

कार्यक्रमको मोडालिटी तय गर्दा स्थानीय पार्टी संरचनाहरूको सक्रिय नेतृत्व र अपनत्व स्थापित हुने गरी गर्न।

४. मितव्ययिता र सुशासन :
भ्रमण र कार्यक्रमहरूलाई तडकभडक, भड्किलोपन र अनावश्यक खर्चबाट पूर्णतः मुक्त राख्दै, स्रोत-साधनको मितव्ययी उपयोग गरी सुशासनको राजनीतिक सन्देश प्रवाह गर्न।

५. नीतिगत पृष्ठपोषण प्रणाली :
निर्वाचन क्षेत्रका नागरिकमाझ जाने क्रममा प्राप्त जन-सुझाव, गुनासा र स्थानीय समितिका वस्तुगत रिपोर्टिङलाई लिपिबद्ध गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्न।

सांसदहरूको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एक-अर्काका पूरक हुन्। सुव्यवस्थित र समन्वयात्मक प्रयत्नले मात्र दलको संस्थागत परिपक्वतालाई उचाइमा पुर्‍याउनेछ र जनताप्रतिको हाम्रो जवाफदेहितालाई थप कसिलो बनाउनेछ‌ भन्ने कुरा मनन गर्न समेत पुन: दिशानिर्देश गर्दछौँ।
विपिन कुमार आचार्य
महामन्त्री
बोधार्थ
संघीय संसदीय दल, राष्ट्रिय स्वतन्त्र पार्टी ।