नेपालमा कोकेन तस्करीका लागि विदेशीको नयाँ तरिका


काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरोले सिलिकनमा मिसाएर कपडाको आकारमा लुकाई नेपाल भित्राइएको ४ किलो २५८ ग्राम कोकेनसहित एक कोलम्बियन र एक भारतीय महिलालाई पक्राउ गरेको छ ।

ब्यूरोका अनुसार हवाई मार्गबाट नेपाल आउने विदेशी नागरिकहरूको प्रोफाइलिङ तथा निगरानी गर्ने क्रममा असार ३१ गते कतार एयरवेजको उडानबाट कोलम्बियाबाट दोहा हुँदै काठमाडौं आइपुगेकी ६२ वर्षीया कोलम्बियन नागरिक योनिथ गार्जोन काइसेडो पक्राउ परेकी हुन् ।

प्रहरीले काठमाडौं महानगरपालिका–१६, ठमेलमा खानतलासी गर्दा उनले बोकेको सुटकेसभित्र फल्स बटम बनाई ब्ल्याङ्केट, म्याट, ज्याकेट, एप्रोन र नेक पिलोमा सिलिकनसँग मिसाएर लुकाइएको अवस्थामा ४ किलो २५८ ग्राम कोकेन बरामद गरेको जनाएको छ।

घटनाको थप अनुसन्धानका क्रममा उक्त कोकेन लिन भारतको मणिपुरबाट काठमाडौं आएकी ३७ वर्षीया भारतीय नागरिक रेबेका पुल्लेलाई पनि साउन ३ गते पक्राउ गरिएको ब्यूरोले जनाएको छ। दुवैविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले कोकेन (सिलिकनसहित) ४ किलो २५८ ग्राम, एक थान पासपोर्ट, एक थान भारतीय निर्वाचन आयोगको परिचयपत्र, २०० अमेरिकी डलर, चार थान मोबाइल फोन र एक थान सुटकेस बरामद गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार अन्य मुलुकबाट नेपालमा कोकेन तस्करी गर्ने हालसम्मको प्रवृत्ति हेर्दा लिक्विड कोकेनलाई सिलिकनसँग मिसाएर कपडाको आकार र साइजमा तयार गरी ल्याइएको यो नयाँ लुकाउने विधि भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।