अबको लगानी प्रविधि केन्द्रित उत्पादनमा


डा. प्रकाशचन्द्र लोहनी ।

१) आज बिहान एउटा उत्साहजनक खबर पढियो । रवि बालेनद्वयको थोत्रा लफडाबारे होइन, नेपालका युवा इन्जिनियरहरुको नयाँ प्रयासले खुसी ल्याएको छ।

२) पढेको खबर अनुसार नेपालका रकेट विशेषज्ञ मोहन तामाङले खोलेको म्याच २४ नामको कम्पनीले मिश्रित उर्जा प्रयोग गरेर सानो रकेटको निर्माण गर्दैछ र यस्तो खाले नयाँ रकेट इन्जिनको लागि प्याटेन्टको लागि पनि दाबी गर्दैछ । यसले म्याच २४ को प्रविधिक क्षमता र विश्वास देखाउँछ ।

३) रकेट इन्जिनियर सुनिल विष्टका अनुसार ५५ पटक इन्जिनको परीक्षण पछि अब तयारी अवस्थामा पुग्दैछ । अझ महत्त्वपूर्ण कुरा यो प्रयास सफल भए यस्तो रकेट इन्जिनको व्यापारीकरण सम्भव छ तर यसको लागि सरकारी क्षेत्रले आवश्यक कानुन बनाउनुको साथै सहयोगको भूमिका निभाउनु जरुरी छ।

४) नेपालले रकेट बनाएर त्यसलाई व्यापारीकरण गर्ने कुरा धेरैलाई अचम्म लाग्ला तर यो सम्भव छ । नेपाल सानो देश होइन, तीन करोड जनसंख्या भएको देश मध्यमस्तरको देश हो । इतिहास हेर्ने हो भने नेपालको सभ्यता,संस्कृति र प्रजिधि प्रयोगको दृष्टिकोणले पनि दक्षिण एसियाको अग्रणी देश हो । काठमाडौ उपत्यकाको वास्तुकला र धार्मिक समन्वयको इतिहास हेरौँ यो तथ्य स्पष्ट छ।

५) तर एउटा कुराको अहिले ठूलो कमी छ । नेपालीको प्राविधिक प्रतिभाले नेपालमा काम पाएका छैनन् तर अहिले एउटा मौका इन्जिनियरिङको विद्यार्थीहरु र नयाँ खोलिएका कम्पनीहरुले देखाउँदैछन् ।

६) के यो संभव छ ? उत्तर छ– सम्भव छ । इलन मस्कले मार्समा रकेट पठाउन लगानीकर्ताको तँछाडमछाड छ। कसैले पनि उनलाई पागल मानेका छैनन् बरु सवैले समर्थन गरेका छन् । म्याच २४ ले मार्स ताकेको छैन । पृथ्वीको कक्षमा घुम्ने साना स्याटलाइट पठाउने सस्तो रकेट इन्जिनको सपना मात्र देखेको छ। याद गरौँ, व्यापारको क्षेत्रमा जम्बो जेटको पनि बजार छ, दुई जना चढ्ने हवाइजाहाजको पनि ठूलो बजार छ । जुन बजारमा हामी सक्छौँ त्यहाँ जाने आँट गर्नुपर्छ । म्याच २४ नामको कम्पनी र यसका प्राविधिज्ञहरु र लगानीकर्ताले यो संभावना देखेका छन्, बधाई छ, सरकारले सहयोग गरोस् ।

७) विज्ञान प्रविधि मन्त्रालय देशको कहलिएका विज्ञको हातमा छ । महावीर पुनजीले यस्ता संभावनाबारे धेरै पहिलेदेखिनै कुरा गर्दै आएको व्यक्ति हुनुहुन्छ । तर अब मन्त्रीको हैसियतले ठट्याउलो गफ गरेर अरुलाई हँसाएर रमाउने शैली छोडेर उहाँले पनि गम्भीरता देखाउन पर्यो । इतिहास बनाउने काममा सहयोग पुर्याउनु राम्रो हुनेछ।

८) अर्थमन्त्रीजीलाई पनि मेरो सल्लाह छः प्रविधि केन्द्रित उत्पादन (Frontier Technology–centric production ) लाई बढावा दिन यस्ता उद्योगको पहिचान गरि १० वर्ष कर माफ गर्ने सम्भावना हेरौँ । नपत्याएको लगानी आउने सक्ने छ । नयाँ उत्पादनशील रोजगारी बढ्ने छ।