कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्‍याउने कल्पनासम्म गरेकी थिइनँ र भविष्यमा पनि गर्नेछैन


आदरणीय दर्शकवृन्द, शुभचिन्तक तथा सम्पूर्ण नेपाली जनमानसमा नमस्कार, म प्रियंका कार्की।

​पछिल्लो समय मेरो निर्माण तथा अभिनय रहेको चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवाद, प्रतिक्रिया र चासोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। गायक दुर्गेश थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत चलचित्रभित्र समावेश गरिएको आधिकारिक गीत नभई, विशुद्ध प्रचारप्रसारको उद्देश्यले आपसी समन्वयमा तयार पारिएको थियो। उक्त गीत चलचित्रको कथावस्तुमा कतै पनि समावेश गरिएको छैन।

​उक्त गीतमा प्रयोग भएका केही शब्द र दृश्यले सम्मानित ‘शिक्षक-शिक्षिका’ पेसा र यससँग जोडिएका आदरणीय व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भनी आएका गुनासाहरूलाई मैले अत्यन्तै गम्भीरतापूर्वक लिएकी छु। कला र मनोरञ्जन पस्कने क्रममा समाजको सबैभन्दा सम्मानित पेसा र मार्गदर्शक व्यक्तित्वहरूमाथि कुनै पनि प्रकारको नकारात्मक असर परोस् भन्ने मेरो वा मेरो टिमको मनसाय कदापि थिएन। यद्यपि, हाम्रो प्रस्तुतिले अन्जानमै तपाईंहरूको भावनामा पर्न गएको चोटप्रति म व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै हृदयदेखि नै क्षमायाचना गर्दछु।

​मैले पहिलोपटक चलचित्र निर्माणको यात्रा थालनी गर्दा कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्‍याउने कल्पनासम्म गरेकी थिइनँ र भविष्यमा पनि गर्नेछैन। अहिले सिर्जना भएको यस परिस्थितिलाई मैले गल्ती सुधार्ने महत्त्वपूर्ण पाठका रूपमा लिएकी छु। सम्पूर्ण आदरणीय गुरु-गुरुआमा, नेपाल शिक्षक महासंघ तथा यस घटनाबाट आहत हुनुभएका सम्पूर्ण दर्शकहरूप्रति उच्च सम्मानसहित नतमस्तक भई माफी चाहन्छु।

​यसै गाम्भीर्यतालाई मनन गर्दै, हामीले उक्त गीत ‘दुर्गेश थापा’ युट्युब च्यानलबाट आधिकारिक रूपमा सधैँका लागि हटाइसकेका छौँ। साथै, मेरा सम्पूर्ण सामाजिक सञ्जालका प्लेटफर्महरूबाट समेत उक्त गीतका अंशहरू पूर्ण रूपमा हटाइसकिएको जानकारी गराउन चाहन्छु। तपाईंहरूले दिनुभएका सल्लाह, सुझाव र आलोचनालाई मैले सकारात्मक रूपमा ग्रहण गरेकी छु। आगामी दिनहरूमा आफ्ना सिर्जना र विषयवस्तु छनौटमा अझ बढी संवेदनशील, जिम्मेवार र सचेत रहने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु। मेरो कलाकारिता यात्राको सुरुवातदेखि आजसम्म तपाईंहरूले दिनुभएको माया, साथ र सहयोगप्रति म सदैव आभारी छु र आगामी दिनमा पनि यस्तै निरन्तर मार्गदर्शनको अपेक्षा गर्दछु।

​पुनः सम्पूर्ण शिक्षक-शिक्षिकाहरू र आदरणीय दर्शकहरूमा हार्दिक क्षमायाचना व्यक्त गर्दछु।
​धन्यवाद।
तपाईंहरूकै,
प्रियंका कार्की