न्याय मर्दैछ र अनुशासन उन्मूलन


डा. युवराज संग्रौला ।

१. नेपालमा साथीहरू जब राम्रो कामको प्रचार गर्छन्, पृष्ठभूमिमा हिन्दी गीत वा गजल बजिरहेको हुन्छ । देशमा बुढापाका, युवायुवती जब भावुक, आनन्ददायी, मनोरञ्जन वा एक्लै भएको क्षणमा हुन्छन्, एक्लै सवारी चलाउँदै हुन्छन्, आफू गायकको अनुकरण गर्दै गायक बनेको टिकटक रिल आउँछ, तर गीत चैं हिन्दी । अब हामीलाई हाम्रो पृथकता चाहिएन जस्तो छ ।

२. साथीहरू जब राजनीतिक गफ टिप्पणी, विचार वा विमर्शमा जोडिन्छन्, भाषा फोहोरी गाली तर्फ दौडन्छ । हाम्रो स्वतन्त्रता हाम्रो स्वछन्दता बन्दैछ । न्याय मर्दैछ र अनुशासन उन्मूलन । यी दुई सकिएपछि हामी पनि सकिने नै हो।

३. आमाचकारी गाली त सामाजिक सञ्जालको भाषा नै भैगयो । यो मानिसको दिमागमा अपराधको बाली लगाउने ब्याड हो ।
हामी के वा को बन्दैछौं ? बुझ्न गाह्रो छ, आज देशमा । पुराना बदलिन चाहन्नन् । नयाँ पुराना चाहँदैन, उसका मान्यता डढाउन चाहन्छ । तर नयाँले आफ्ना मान्यताको ब्याडै राखेन । अहिले देशमा धनी र गरीबको प्रष्ट विभाजन देखिएको छ, र भाष्य यो देश धनीको बढी र गरिबको कम देखिएको छ । देश सरकारको बढी र नागरिकको कम देखिएको छ । देश विचारहिनताको तुजुक बढी र विचार दिनदिनै मर्दै गरेको अवस्थामा छ। देश भीडको बढी र निरीह एक्लाको कम देखिएको छ । मानवीय संवेदनशीलता मर्दैछ।

४. देशमा राजनीतिक दल होइन, सामाजिक संजालको घनत्व छ । देशमा के नबोल्ने भन्दा जे पनि बोल्ने संस्कृति बन्दैछ । भीडको भावना व्यापक र दुरदृष्टिको ब्याड उन्मूलन हुँदैछ । जब देशमा बादप् मासिन्छ, जब देशको भाषा र सभ्यता मर्छ, जब देशमा नागरिकको विभाजन हुन्छ र राष्ट्रिय एकता मासिन्छ, तब नागरिकको यात्रा भवनबाट ‘प्लास्टिकको छानातर्फ यात्रा गर्छ, नागरिकबाट शरणार्थीको दर्जा खोज्न लाग्छ, आफ्नालाई मार्छ र अर्काको काख खोज्छ।’ यो परिवर्तनको नियती पनि हो। यस्तो हुन नदिने हो भने, ‘मेरो घर, मेरो जागिर, मेरो पैसा, मेरो धन सुरक्षित छँदैछ भन्ने होइन मेरो देश रहेन भने मेरा सबै खोसिने छन् त्यसकारण मेरो देश समृद्ध र सभ्य हुनुपर्छ भनि सोच्नुपर्छ।’ आज देशको आवश्यकता ‘ठूलो दृष्यलाई हेरेर आफ्नो दशा सोच्ने हो।’ राष्ट्रिय एकता निर्माण गर्ने सोचले मात्रै ‘म पृथक देशको स्वतन्त्र नागरिक र सम्मानित मानिस हुँ भन्ने सोचको जग निर्माण हुन्छ । ‘अन्यथा एकार्काको शत्रु र शरणार्थीको यात्रानै नियती हुनेछ।’