गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट


नवलपरासी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती सामुदायिक वनभित्र सञ्चालनमा रहेको जटायु रेष्टुरेन्ट अहिले गिद्ध संरक्षणको सफल नमूनासँगै पर्यटकीय तथा अध्ययन–अनुसन्धान केन्द्रका रूपमा विकास हुँदै गएको छ ।

नाम सुन्दा मानिसका लागि सञ्चालन गरिएको रेष्टुरेन्टजस्तो लागे पनि यो गिद्धका लागि सुरक्षित आहार उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको संरक्षण केन्द्र हो । पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिका कारण गिद्धको सङ्ख्या तीव्र रूपमा घट्न थालेपछि समुदाय, संरक्षणकर्मी र सरोकारवालाको सहकार्यमा सन् २००६ मा जटायु रेष्टुरेन्ट स्थापना गरिएको थियो । डाइक्लोफेनेकयुक्त औषधि प्रयोग गरिएका पशुको सिनो खाँदा गिद्धको मृत्यु हुने तथ्य पुष्टि भएपछि नेपालमा उक्त औषधिको प्रयोगमा रोक लगाइएको थियो ।

जटायु रेष्टुरेन्ट स्थापना भएपछि यस क्षेत्रमा गिद्ध संरक्षणमा उल्लेखनीय सफलता हासिल भएको छ । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजाति यहाँ अभिलेख भएका छन् । तीमध्ये चार प्रजाति रैथाने हुन् भने अन्य चार प्रजाति जाडोयाममा हिमाली क्षेत्रबाट बसाइँ सरेर आउने गरेको जटायु रेष्टुरेन्टका संयोजक डीबी चौधरीले बताए ।

रेष्टुरेन्ट स्थापना भएपछि गिद्धको सङ्ख्या बढ्नुका साथै स्थानीय समुदायमा पनि गिद्ध संरक्षणप्रति सकारात्मक सोचको विकास भएको छ । ‘पहिला गिद्धको संरक्षणबारे धेरैको चासो थिएन । अहिले गिद्ध प्रकृतिका लागि आवश्यक जीव भएको बुझाइ बढेको छ र स्थानीयवासी संरक्षण अभियानमा सक्रिय रूपमा सहभागी हुन थालेका छन्’, संयोजक चौधरीले भने ।

कावासोती नगरपालिका–७, १२ र १३ रहेको नमूना मध्यवर्ती सामुदायिक वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको संरक्षण क्षेत्रमा गिद्धका लागि सुरक्षित वासस्थान व्यवस्थापन गरिएको छ । गिद्धले बास बस्न रुचाउने सिमललगायतका अग्ला रूख रोप्ने, स्वच्छ पानीको व्यवस्था गर्ने, नियमित रूपमा सुरक्षित आहार उपलब्ध गराउने तथा घाइते वा कमजोर गिद्धको उपचार र निगरानी गर्ने व्यवस्था गरिएको जटायु रेष्टुरेन्टका कर्मचारी यम नेपालीले बताए ।

जटायु रेष्टुरेन्ट अहिले संरक्षण केन्द्रमा मात्र सीमित छैन । पछिल्लो समय यहाँ गिद्ध अवलोकनका लागि जिल्लाभित्र तथा बाहिरबाट पर्यटकहरू आउने गरेका छन् । वनभित्र निर्माण गरिएको ‘सी–ब्लक’ (सी आकारको अवलोकन गृह) बाट पर्यटक तथा अनुसन्धानकर्ताले गिद्धले आहार ग्रहण गरिरहेको दृश्य नजिकबाट अवलोकन गर्न सक्छन् ।

गिद्ध संरक्षणसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । वन्यजन्तु संरक्षण, जैविक विविधता र चराचुरुङ्गी अध्ययनमा रुचि राख्ने विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि पनि यो क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको कर्मचारी नेपालीले बताए ।

समुदायको सक्रिय सहभागिता, व्यवस्थापन र संरक्षणप्रतिको प्रतिबद्धताले जटायु रेष्टुरेन्टलाई गिद्ध संरक्षण, प्रकृति पर्यटन तथा अध्ययन–अनुसन्धानलाई एकैसाथ प्रवद्र्धन गर्ने देशकै सफल नमूनामध्ये एकका रूपमा स्थापित गरेको छ ।

स्थानीयवासीको अपनत्व र संरक्षणप्रतिको जागरणले सङ्कटापन्न गिद्धको संरक्षणमा मात्र होइन, पर्यावरणीय सन्तुलन कायम राख्न समेत महत्वपूर्ण योगदान पु¥याइरहेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी सुवास अधिकारीले बताए । डिभिजन वन कार्यालयबाट समेत गिद्ध संरक्षणको प्रयासलाई थप सबल बनाउनका लागि विभिन्न समयमा आवश्यक कार्यहरु गर्ने गरिएको उनले बताए ।