ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी


तेहरान । अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका सरकारनिकट केही सञ्चारमाध्यमले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकारीलाई लक्ष्य गर्दै कडा चेतावनीपूर्ण सामग्री प्रकाशन गरेका छन्।

ती प्रकाशनले अमेरिकासँगको तनाव थप चर्किन सक्ने संकेत दिएका छन्। इरानी दैनिक हामसहरीले आफ्नो पहिलो पृष्ठमा ‘आकस्मिक मृत्युका लागि तयार हुनुहोस्’ शीर्षक प्रकाशन गर्दै ट्रम्प, अमेरिकी रक्षामन्त्री पीट हेग्सेथ, प्रधानमन्त्री नेतन्याहु तथा अन्य अधिकारीको तस्बिरसँगै ग्राहमको मृत्युको सन्दर्भ जोडेको छ। उक्त सामग्रीमा ग्राहमको तस्बिरअघि ट्रम्प घुँडा टेकेर बसेको चित्रसमेत छ।

अर्को इरानी पत्रिका भातान–ए इमरोजले जुलाई १३ को संस्करणमा ‘मृत्युका व्यापारीको मृत्यु’ शीर्षकसहित ग्राहमको निधनलाई प्रमुख समाचार बनाएको छ। पत्रिकाले ग्राहमलाई इरानविरुद्ध अमेरिकाको कडा नीतिका प्रमुख समर्थकमध्ये एक भन्दै ‘अचानक बिरामी’ परेर उनको मृत्यु भएको उल्लेख गरेको छ।

यसैबिच इरानी सरकारी सञ्चारमाध्यमका एक समाचार वाचकले ग्राहमको मृत्युबारे टिप्पणी गर्दै इरानविरोधी अमेरिकी सिनेटर नरक पठाइएको भनेका छन्।

यस्ता अभिव्यक्तिले सामाजिक सञ्जाल र अमेरिकी राजनीतिक वृत्तमा थप बहस सिर्जना गरेको छ।

ती सामग्री सार्वजनिक भएपछि ट्रम्प समर्थक ‘मेक अमेरिका ग्रेट अगेन (एमएजीए)’ अभियानसँग आबद्ध केही समूहले ग्राहमको मृत्युबारे विभिन्न षड्यन्त्र सिद्धान्त अघि सारेका छन्। कतिपयले यस घटनामा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) को सम्भावित संलग्नताबारे अनुसन्धान गर्न माग गरेका छन्।

यद्यपि त्यससम्बन्धी कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन। दक्षिण क्यारोलिनाबाट निर्वाचित सिनेटर ग्राहम लामो समयदेखि अमेरिकाको आक्रामक विदेश नीतिका समर्थक थिए। उनले युक्रेनलाई सैन्य सहयोग निरन्तर उपलब्ध गराउन, गाजामा इजरायललाई खुला समर्थन गर्न तथा इरानको वर्तमान शासन परिवर्तन गर्नुपर्ने धारणा बारम्बार सार्वजनिक गरेका थिए।

गाजाको युद्धका क्रममा इजरायलले आवश्यक परे आणविक हतियार प्रयोग गर्न सक्ने अभिव्यक्ति दिएपछि उनी थप विवादमा परेका थिए।

त्यसैगरी फेब्रुअरी २८ मा इरानमा गरिएको आक्रमणपछि पनि उनले इरानी सरकारलाई सत्ताच्युत गर्न खुला आह्वान गरेका थिए।

फक्स न्युजसँगको अन्तर्वार्तामा ग्राहमले इरानको वर्तमान शासनको अन्त्यले मध्यपूर्वको शक्ति सन्तुलन परिवर्तन हुने र त्यसबाट आर्थिक अवसरसमेत सिर्जना हुने तर्क गरेका थिए।

इरानसँगको पछिल्लो द्वन्द्व सुरु हुनुअघि उनले पटकपटक इजरायल भ्रमण गरी गुप्तचर संस्था मोसादका अधिकारीसँग भेटवार्ता गरेका थिए। ती भेटबाट प्राप्त सूचनाले आफ्नै सरकारले उपलब्ध नगराएको जानकारी दिएको उनको भनाइ थियो।

द वाल स्ट्रिट जर्नलका अनुसार ग्राहमले ती भ्रमणका क्रममा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग पनि छलफल गरेका थिए। नेतन्याहुले उपलब्ध गराएको गुप्तचर सूचनाले राष्ट्रपति ट्रम्पलाई इरानविरुद्ध संयुक्त सैन्य कारबाहीमा सहमत गराउन भूमिका खेलेको दाबी ग्राहमले गरेको उल्लेख गरिएको छ।

यसअघि पनि उनले संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालगायत क्षेत्रीय शक्तिलाई इरानविरुद्धको सम्भावित सैन्य कारबाहीमा सहभागी हुन आग्रह गरेका थिए।