गाडी पार्किङ प्रकरण लोकतन्त्रको घाँटी रेट्ने दुस्प्रयत्न होः बाबुराम भट्टराई


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गाडी पार्किङ प्रकरणविरुद्ध प्रतिरोधात्मक कदच चाल्नुपर्ने बताएका छन् ।

प्रमुख संचारमाध्यमका कार्यालय तथा प्रमुख प्रतिपक्षी दलका सभापतिको निवास अगाडि सुनियोजितरुपमा गाडी पार्किङ गरिएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् ।

उनले भनेका छन्, ‘प्रमुख संचारमाध्यमका कार्यालय, प्रमुख प्रतिपक्षी दलका सभापतिको निवास, उद्यमी–व्यवसायीका कार्यस्थल अगाडि नियोजित रूपले शंकास्पद गाडीहरू तेस्र्याएर कसले के संकेत गर्न खोजेको हो त्यसको गहिराइमा गएर सत्यतथ्य बुझ्न र गम्भीर प्रतिरोधात्मक कदम चाल्न अत्यन्त जरूरी भएको छ।यदि यो सरकार पक्षबाट गरिएको हो भने त्यो सरासर लोकतन्त्रको घाँटी रेट्ने दुस्प्रयत्न हो जसलाई सबै दल र जनसमुदायले एकतावद्ध भएर सशक्त प्रतिवाद गर्नुपर्छ।’

उनले घटनाको सत्यतथ्य उजार गर्न सरकारलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यदि यो नवनिर्वाचित सरकारलाई बदनाम गर्ने, दलहरूवीच दूरी बढाएर धमिलो पानीमा माछा मार्ने कुनै अदृश्य शक्तिको षड्यन्त्रपूर्ण हर्कत हो भने सरकार, प्रतपक्षी दलहरू र आम जनता एकजुट भएर त्यस्तो कुतत्वलाई बेनकाव र परास्त गर्नुपर्छ । जेसुकै भए पनि देशले लोकतान्त्रिक स्थीरता, सुशासन र समृद्धि खोजिरहेको वेला देशमा पुनः राजनीतिक द्वन्द्व र अस्थीरताका बादलहरू मडारिन थाल्नु जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, देशको स्वाधीनता र जनताको सुखसमृद्धिका लागि पटक्कै शुभसंकेत हुँदैहैन । अतः यतिवेला सबै पक्ष गम्भीर र जिम्मेवार बनौं। राज्यपक्ष विशेष उत्तरदायी बनोस् र यस घटनाको सत्यतथ्य छिटो उजागर गरोस् ।’