काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी शासनतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा सोमबार पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको विशेष छलफललाई सम्बोधन गर्दै उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र निजी सम्पत्तिमाथि हस्तक्षेप स्वीकार्य नहुने बताए ।
सभापति थापाले पार्टी नेताका घर, सञ्चारमाध्यमका कार्यालय र व्यवसायिक प्रतिष्ठान बाहिर सवारीसाधन राखेर त्रास सिर्जना गर्ने कार्यको आलोचना गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू सरकारी सवारी प्रयोग गरेर फर्किएको जानकारी स्थानीयवासीबाट प्राप्त भएको बताए ।
सुकुम्बासी समस्या र गणेश नेपालीको आत्मदाहबारे राजनीतिक दल र सञ्चारमाध्यमले प्रश्न उठाउन थालेपछि राज्यले यस्तो व्यवहार गरेको उनको आरोप थियो ।
सुकुम्बासी समस्यालाई दलीयकरण गर्ने कांग्रेसको नीति नरहेको स्पष्ट पार्दै उनले कानुनी समाधान खोज्न नसकेर सरकारले आफैं समस्या सिर्जना गरेको बताए।
सरकार हरेक नागरिकको अभिभावक र संरक्षक बन्नुपर्नेमा मानव जीवनको संरक्षणप्रति उदासीन बनेको उनको भनाइ थियो ।
कांग्रेस कुनै घटना भएपछि मात्रै प्रतिक्रिया दिने दल नभई सम्भावित नागरिक समस्यालाई समयमै उजागर गर्ने अभियानमा सक्रिय रहने उनले बताए ।

प्रतिक्रिया