काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी साउनदेखि तीन महिनासम्म ‘डेङ्गी सचेतना’ अभियान सञ्चालन गर्ने भएको छ ।
साउन, भदौ र असोज तीन महिनासम्म‘डेङ्गी सचेतना’ अभियान सञ्चालन गरिने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए।
उनले साउनदेखि डेङ्गीको सङ्क्रमण बढ्ने सम्भावना भएकाले तीन महिनासम्मका लागि सचेतना अभियान सञ्चालन गरी आमनागरिकलाई सचेत बनाइने बताए ।
‘साउनदेखि वर्षा बढी हुने भएकाले पानी जम्मा हुने र त्यही पानीमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने भएकाले सोबारे जानकारी दिन अभियान सञ्चालन गर्नेछौँ’, डा दाहालले भने, ‘सर्वसाधारणलाई डेङ्गीबाट बच्ने उपायलगायत विषयमा सचेत गराउने छौँ ।’
साउनदेखि असोजमा डेङ्गी सङ्क्रमण उच्च हुने सम्भावना रहेको उनले बताए । सचेतना अभियानअन्तर्गत लामखुट्टेका लार्भा खोज र नष्ट गर, टोलटोल र विद्यालय गएर डेङ्गी सङ्क्रमणबारे सचेतना फैलाइने शाखा प्रमुख डा दाहालले उल्लेख गरे। उनका अनुसार गत जनवरीदेखि अहिलेसम्म एक हजार २४४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया