प्रतिनिधिसभाबाट चार विधेयक सर्वसम्मतिले स्वीकृत


काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सभाको बिहीबारको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत गरेको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पेस गरेको ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

छलफलमा भाग लिँदै सांसद पार्वती विकले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भनिन्, “हामीले काम गर्दै जाँदा भोगेका समस्या समाधानका निम्ति विधेयक ल्याएको हो, यो यत्तिकै ल्याएको होइन, धेरै छलफलबाट आएको हो ।”

यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तुत गरेको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।