मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै


मुस्ताङ । मुस्ताङको स्याङ र मार्फा खोलामा बिहीबारदेखि नदी उकास घटाउन थालिएको छ । कोरलानाका जोड्ने स्याङ खोला पुलमा बर्सेनि नदी उकास बढ्न थालेपछि पुल, बस्ती र खेतीयोग्य जमिन जोखिममा पर्न थालेसँगै स्याङ खोलामा नदी नियन्त्रणका लागि उकास घटाउने काम सुरु गरिएको हो ।

संरक्षण क्षेत्र व्यवस्थापन समिति (मार्फा)को पहलमा घरपझोङ गाउँपालिका–३ स्थित स्याङ खोलामा च्यानालिङ (उकास घटाउने काम) थालिएको हो । संरक्षण व्यवस्थापन समिति (मार्फा)ले चालु आर्थिक वर्ष मार्फा र स्याङ खोलामा नदी नियन्त्रणका लागि एक/एक लाख बजेट विनियोजन गरिएपछि उक्त स्थानमा नदी उकास घटाउन च्यानालिङको काम सुरु गरिएको संरक्षण व्यवस्थापन समितिका अध्यक्ष आसबहादुर थकालीले जानकारी दिए ।

कोरला सडकअन्तर्गत घरपझोङ–२ स्थित मार्फा र घरपझोङ–३ स्याङ खोलामा बर्सेनि नदीजन्य पदार्थ ढुङ्गा, गिटी, बालुवा र ग्रेगान थुप्रिएर नदी उकास बढेकाले पुलको भौतिक संरचना, आसपासका बस्ती र खेतीयोग्य जमिन जोखिममा पर्न थालेको उनले उल्लेख गरे ।

समितिका अध्यक्ष थकालीका अनुसार स्याङ खोलाको धारलाई नियन्त्रणमा राख्ने उद्देश्यले गरिएको च्यानालिङका लागि संरक्षण क्षेत्र व्यवस्थापन समितिले इन्धनको व्यवस्था गरेको छ भने अमित बिल्डर्स र ङुटुक गुरुङ (टाइगर)ले निःशुल्क दुई वटा स्काभेटर (डोजर) उपलब्ध गराएका छन् । कोरला नाका जोड्ने स्याङ पुल क्षेत्रको तल र माथि गरी करिब ५०० मिटर दूरीमा दुईतर्फी खोलालाई च्यानालिङ गरिएको उनले जानकारी दिए ।

मुस्ताङमा कालीगण्डकी नदी तथा शाखा नदीहरूमा नदीजन्य पदार्थ बर्सेनि थुप्रिँदा यहाँका सडक, पुलपुलेसा, बस्ती र खेतीयोग्य जमिन कटानको उच्च जोखिममा पर्ने गरेका छन् । प्राकृतिक स्रोत ढुङ्गा, गिटी, बालुवाको समुचित उत्खनन तथा व्यवस्थापन नहुँदा कालीगण्डकी नदी र शाखा नदीको जोखिम बढ्दै जान थालेको समितिका अध्यक्ष थकालीले बताए ।

पुल, बस्ती र खेतीयोग्य जमिन संरक्षण गर्न घरपझोङ गाउँपालिकाले २० लाख बजेट विनियोज गरी नदी नियन्त्रण तथा ग्याविन तटबन्ध निर्माण गरेको वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले जानकारी दिए । स्याङ खोलामाथि पक्की पुल रहेको स्थानमा एक सय थान ग्याबिन वाल प्रयोग गरी आठ सय मिटर दूरीमा तटबन्ध निर्माण गरिएको उनले उल्लेख गरे ।

उक्त खोलाको सुरुवाती गहिराई २५ मिटर रहेकामा बर्सेनि नदीजन्य गेग्रान भरिँदा हाल १५ मिटर उकास बढेको वडाध्यक्ष थकालीले जानकारी दिए । स्याङ र मार्फा खोलामा बर्सेनि आउने बाढीपहिरोका कारण पुलक्षेत्रको नदी उकास बढेको भन्दै यसले मार्फा र स्याङ गाउँका केही बस्ती र खेतीयोग्य जमिन नदी कटानको जोखिममा परेका उनले बताए ।

कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले कालिगण्डकी नदी तथा शाखा नदीहरूमा नदीजन्य पदार्थको उकास भरिँदा सडक तथा पुलपुलेसा जोखिममा रहेका बताए । कोरला सडकअन्तर्गत छुसाङ, पाण्डा, मार्फा, स्याङ खोलालगायत स्थानमा नदी उकासले गर्दा सडक तथा पुल जोखिममा पर्ने गरेका उनको भनाइ छ ।

आयोजना प्रमुख शर्माले नदी उकासले जोखिममा परेका सडक तथा पुलपुलेसा रहेका स्थानमा प्रारम्भिक र दीर्घकालीन समाधानका योजना तयार गरी नदी नियन्त्रणसम्बन्धी कार्यक्रम कार्यान्वयनमा ल्याइने बताए ।
प्राकृतिक स्रोत ढुङ्गा, गिटी र बालुवाको समुचित व्यवस्थापन गरी नदी उकास घटाउन कानुनी र प्राविधिक जटिलता विद्यमान रहेका उल्लेख गर्दै उनले यसबारे सरोकार भएका निकायसँगको समन्वयमा प्राविधिक अध्ययन गरी तत्काल गर्न सकिने र दीर्घकालीन योजना अघि बढाउने लक्ष्य रहेको जानकारी दिए।