हर्मुजमा चुलियो तनाव


दुबई ।  इरानका स्वर्गीय सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको अन्त्येष्टि जारी रहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक ट्याङ्करमाथि प्रहार भएको छ ।

ओमानको तट नजिक यात्रा गरिरहेको प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्याङ्करमा मङ्गलबार बिहान प्रहार भएपछि आगलागी भएको बेलायती सेनाले जनाएको छ ।

घटनाले यस क्षेत्रको सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र इरान–अमेरिका तनावलाई थप जटिल बनाएको छ । बेलायतको युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) का अनुसार ओमानको लिमाह क्षेत्र नजिक दक्षिणतर्फ गइरहेको ट्याङ्करको बायाँ भागमा प्रक्षेप्य प्रहार भएको थियो ।

आगलागी भएपनि घटनाबाट क्षति नभएको र सम्बन्धित निकायहरूले अनुसन्धान अघि बढाइरहेको जनाइएको छ । पर्सियन खाडी र ओमानको खाडी जोड्ने हर्मुज जलघाँटी विश्वकै सबैभन्दा व्यस्त ऊर्जा व्यापारिक मार्गमध्ये एक हो ।

विश्वको करिब पाँचौँ भाग तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने भएकाले त्यहाँ हुने प्रत्येक सुरक्षा घटनाले अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ ।

इरानी सरकारी टेलिभिजनले कतारबाट एलएनजी बोकेको ट्याङ्कर आक्रमणमा परेको जनाएको छ । तर, अहिलेसम्म इरानले तेहरानले औपचारिक रूपमा आक्रमणको जिम्मेवारी लिएको छैन ।

यसअघि इरानले आफ्नो स्वीकृत समुद्री मार्गबाहेक अन्य मार्ग प्रयोग गर्ने जहाजहरूलाई चेतावनी दिँदै आएको थियो । गत बिहीबार इरानको संयुक्त सैन्य कमान्डले जलघाँटीबाट गुड्ने सबै तेल ट्याङ्करले स्वीकृत मार्ग प्रयोग गर्नुपर्ने र अमेरिकी सैन्य हस्तक्षेप भए त्यसको ‘द्रुत र निर्णायक’ जवाफ दिइने चेतावनी दिएको थियो ।

यसैबीच, जलघाँटी पूर्ण रूपमा खुलाउने, इरानको विवादास्पद आणविक कार्यक्रम सीमित गर्ने तथा फेब्रुअरी २८ देखि सुरु भएको युद्धको स्थायी अन्त्य खोज्ने उद्देश्यले अमेरिका र इरानबीच वार्ता अघि बढाउने प्रयास जारी रहे पनि खामेनीको अन्त्येष्टिका कारण वार्ता केही समयका लागि स्थगित भएको जनाइएको छ ।

सोमबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न आग्रह गर्दै त्यसो नभए थप कडा कदम चाल्ने चेतावनी दिनुभएको थियो । उहाँले सम्झौता गर्न चाहेको बताउँदै आवश्यक परे इरानको पूर्वाधार र ऊर्जा प्रणालीमाथि आक्रमण गर्न सकिने धारणा व्यक्त गरेका थिए ।

दुवै पक्षबीच ६० दिनसम्म जहाजलाई शुल्कबिनै आवतजावत गर्न दिने अस्थायी सहमति भए पनि इरानले भविष्यमा समुद्री मार्गको नियन्त्रण र शुल्क असुलीको अधिकार कायम राख्नुपर्ने अडान लिएको छ ।

अमेरिका र खाडी क्षेत्रका धेरै मुलुकले भने त्यस्तो व्यवस्था स्वीकार नगर्ने स्पष्ट पारेका छन् । ओमान र संयुक्त राष्ट्रसङ्घका निकायहरूले वैकल्पिक समुद्री मार्ग प्रयोग गर्ने प्रयासले यसअघि पनि क्षेत्रमा तनाव र आक्रमण निम्त्याएको बताएका छन् ।