त्रिवि उपकुलपति प्रा. डा. थापाद्वारा कार्यभार सुरु


काठमाडौं  । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले आजदेखि कार्यभार सुरु गरेका छन् ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन साहले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ (२) बमोजिम गठित समितिको सिफारिसअनुसार सोही ऐनको दफा १८ को उपदफा (२) बमोजिम यही असार १९ गतेको निर्णायानुसार थापालाई नियुक्त गरेका हुन् ।

काठमाडौँ विश्वविद्यालयको उपकुलपति समेत रहिसकेका प्रा डा थापाले नेपालमा उच्च शिक्षा र अनुसन्धानको विकासमा उल्लेखनीय योगदान पुर्याएका छन् ।

काठमाडौँ विश्वविद्यालयमा रजिष्ट्रार र इन्जिनियरिङ सङ्कायका डीनसहित थुप्रै महत्त्वपूर्ण नेतृत्वदायी पदहरूमा रहेर उत्कृष्ट योगदान गरिसक्नुभएका नवनियुक्त उपकुलपति प्रा डा थापाले हाइड्रोलिक मेसिनरी र ऊर्जा प्रणाली क्षेत्रमा दक्ष विद्वानको समेत ख्याति प्राप्त गरेका छन् । उपकुलपति थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीवाट विद्यावारिधि गरेका छन् ।

कीर्तिपुरमा पदभार ग्रहण कार्यक्रममा उनलेभौतिक तथा मानविय स्रोत/साधनमा सक्षम तथा विश्वमा पृथक पहिचान र गरिमा बनाएको गौरवशाली त्रिभुवन विश्वविद्यालयलाई सरोकारवाला सवैको राय, सुझाव र सहयोगमार्फत उत्कृष्ट संस्थाको रुपमा विसकित समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा निवर्तमान उपकुलपति प्रा डा सुशीलबहादुर बर्जाचार्य, निमित्त शिक्षाध्यक्ष प्रा डा शङ्करप्रसाद खनाल एवं निमित्त रजिष्ट्रार प्रा डा महानन्द चालिसेलगायत विभिन्न अध्ययन संस्थान तथा सङ्कायका डीन, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, महाशाखाका प्रमुखहरुलगायत प्राध्यापक, कर्मचारीका साथै विद्यार्थीहरु समेत सहभागी थिए ।