युवा वैज्ञानिकलाई अनुसन्धानका लागि प्रस्ताव माग्दैछौँः मन्त्री पुन


काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताएका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लामो पहलपछि बेग्लै मन्त्रालय स्थापना भएको र यस क्षेत्रका लागि बजेट बढ्न थालेको बताए ।

मन्त्री पुनले मुलुकमा आविष्कार केन्द्र खोल्न आफूले विगतमा गरेका कामको चर्चा गर्दै अघिल्ला सरकारहरुले विज्ञान र प्रविधिलाई कम महत्व दिएकाले आफू राजनीतिमा आउनुपरेको स्पष्ट गरे ।

मन्त्रालयका लागि पुँजीगत खर्चको एक प्रतिशत (चार अर्ब) विनियोजन गरिएको जनाउँदै बजेट पेस भएको समयमा मन्त्री नियुक्त नभएकाले तीन अर्ब ४० करोड अवण्डामा राखिएको उनले बताए ।

मन्त्री पुनले प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान र प्रविधिको क्षेत्रमा विनियोजन गर्न आग्रह गर्दै आएको उल्लेख गरे ।