नवलपरासी पूर्व । पूर्वी नवलपरासीको त्रिवेणीस्थित श्री गजेन्द्रमोक्ष वेद–वेदाङ्ग संस्कृत गुरुकुलमा अध्ययनरत बटुकलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
सेवा र विकासका लागि युवा संस्थाको आयोजना, प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वय तथा भारतीय जनता र भारत सरकारको सहयोगमा आयोजित कार्यक्रममा त्रिवेणी क्षेत्रका विभिन्न गुरुकुलमा अध्ययनरत बटुकलाई झोला, कापी, कलम, अङ्ग्रेजी बोलचाल पुस्तक, प्रज्ञा बृहत् शब्दकोष, क्यापलगायत अध्ययनका लागि आवश्यक सामग्री प्रदान गरिएको हो।

कार्यक्रममा गजेन्द्रमोक्ष धामका प्रमुख स्वामी कृष्णप्रपन्न गौतम, नेपाल प्रथम राष्ट्रिय अभियानका राष्ट्रिय संयोजक तथा सेवा र विकासका लागि युवाका संरक्षक नारायणप्रसाद ढकाल, त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी, सेवा र विकासका लागि युवाका सदस्य सुभेन्द्रप्रसाद यादव, समाजसेवी विमला न्यौपाने, संस्थाका अन्तर्राष्ट्रिय सदस्य रङ्गनाथ ढकाल तथा त्रिवेणी गजेन्द्रमोक्ष दिव्य धाम क्षेत्र विकासका कार्यकारी निर्देशक झपेन्द्र भुसाललगायतको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार वितरण गरिएको शैक्षिक सामग्रीले बटुकहरूको अध्ययनलाई थप सहज बनाउनुका साथै आत्मविश्वास र अध्ययनप्रतिको उत्साह अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
कार्यक्रममा वक्ताहरूले वैदिक शिक्षा नेपालको प्राचीन ज्ञान–परम्परा, संस्कृति र सभ्यताको महत्वपूर्ण आधार भएकाले यसको संरक्षण र संवद्र्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनीहरूले गुरुकुल शिक्षाको विकासका लागि सरकारी निकाय, सामाजिक संस्था र नागरिक समाजबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले शिक्षामा समान अवसर विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे।

आयोजक संस्था सेवा र विकासका लागि युवाले शिक्षा, सेवा र संस्कारलाई केन्द्रमा राखेर देशका विभिन्न जिल्लामा शैक्षिक सहयोग अभियान सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले आगामी दिनमा पनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थी तथा गुरुकुल शिक्षाको प्रवद्र्धनका लागि यस्ता सेवामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।









प्रतिक्रिया