सरकारलाई बसको रङ परिवर्तनमा नभई सार्वजनिक यातायात व्यवस्थापनमा ध्यान दिन योगेश भट्टराईको सुझाव


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारलाई साझा बसको रङ परिवर्तन गरी ब्लू बस भन्दा यातायात सेवालाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिन सुझाव दिएका छन् ।

आगामी साउन १ गतेदेखि काठमाडौँ उपत्यकामा साझा यातायातका बसको रङ परिवर्तन गरी ब्लू बस संचालन गर्न लागिएको खबर आइरहेका बेला उपमहासचिव भट्टराईको यस्तो भनाई आएको हो । उनले वर्षेनी सवारी दुर्घटनामा परी तीन हजार नागरिकले ज्यान गुमाइरहेका भन्दै रङ परिवर्तनले खास अर्थ नराख्ने बताएका छन् ।

उनले भनेका छन्, ‘रंग नीलो होस या रातो, सेतो होस या कालो, खैरो होस या हरियो । यो केवल रूपमा परिवर्तन मात्र हो । खाँचो त सार्वजनिक यातायात र सडकको सेवा, व्यवस्थापन र गुणस्तरमा परिवर्तन हो । जसले वर्षमा तीन हजारबढी नागरिकलाई सडकÞ दुर्घटनाबाट हुने मृत्युबाट जोगाउन सकियोस् । हजारौँलाई घाइते हुनबाट जोगाउन सकियोस् । मानवीय तथा भौतिक क्षतिबाट मुलुकको अर्थतन्त्रलाई जोगाउन सकियोस् । सडक सवारीमा लाग्ने पट्यारलाग्दो समय र आकसिंदो खर्चलाई कम गर्न सकियोस् । सडकलाई मृत्यु मार्गबाट जीवन मार्गमा बदल्न सकियोस् । भरपर्दों, विश्वासिलो र उत्पादनशील कनेक्टिभिटीमा रूपान्तरण गर्न सकियोस् । रूप हैन सारको परिवर्तनमा ध्यानजाओस् ।’