देश र जनताको पक्षमा गम्भीर हुन सिक्नुस् प्रधानमन्त्रीज्यू !


काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गरेकी छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद सिद्धिकीले प्रतिनिधि सभा नियमावली, २०८३ ले प्रत्येक सांसदलाई प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने अधिकार दिएको उल्लेख गर्दै उक्त व्यवस्थाले सरकारलाई जवाफदेही, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने बताइन्।

उनले भनिन्, ‘प्रधानमन्त्री सडकको होइन, देश र नेपाली जनताको प्रधानमन्त्री हो। उहाँ संसदमा आएर देशको गरिमा र जनताको सम्मानका विषयमा स्पष्ट धारणा राख्नुपर्छ। देश र जनताको पक्षमा गम्भीर हुन सिक्नुस् प्रधानमन्त्रीज्यू।’

उनले सांसदहरूले सरकारलाई खबरदारी गर्नु मात्र नभई सरकारलाई सफल र बलियो बनाउन पनि भूमिका खेल्ने बताउँदै संसदप्रति सरकारको उत्तरदायित्व कमजोर बन्दै गएको टिप्पणी गरिन्।

सिद्धिकीले वर्तमान सरकारले गरेका काम शतप्रतिशत सफल भएको दाबी गर्न नसकिने भन्दै जनताले पाउनुपर्ने मौलिक हक, सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य कार्यान्वयनमा सरकार चुकेको आरोप लगाइन्।

उनले भनिन्, ‘हाल सरकारले गरेका सबै काम १०० प्रतिशत सफल छन् त ? जनताले पाउनुपर्ने मौलिक हकको पूर्ण प्रत्याभूति भएको छ त ? एउटा सांसदको दृष्टिले हेर्दा सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यअनुसार अघि बढिरहेको देखिँदैन।’