काठमाडौँ । विश्वकप फुटबलमा बेल्जियमले अन्तिम १६ मा स्थान बनाएको छ । बेल्जियमले अतिरिक्त समयमा सेनेगललाई ३–२ ले हराउँदै प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको हो । बिहीबार बिहान भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा सेनेगल अन्तिम १६ पुग्न असफल रह्यो ।
खेलको २४ औँ मिनेटमा हबिब डियराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए भने ५४औँ मिनेटमा इस्माएला सारले गोल थप्दै अग्रता २–० मा पुर्याए । तर अन्तिम समयमा बेल्जियमले शानदार पुनरागमन गर्यो । ८५ औँ मिनेटमा रुमेलो लुकाकुले गोल फर्काएपछि ८६औँ मिनेटमा यौरी टिएलम्यानले बराबरी गोल गर्दै खेल २–२ को अवस्थामा पुर्याए ।
निर्धारित समयपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा सेनेगलका लेमिन केमेराले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि बेल्जियमले पेनाल्टी पायो । टिएलम्यानले यो अवसरलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ३–२ को जित दिलाए । यससँगै बेल्जियम अन्तिम १६ मा प्रवेश गर्दा सेनेगलको विश्वकप यात्रा समाप्त भएको छ ।

प्रतिक्रिया