बाल सदस्यता प्रकरणमा रास्वपालाई मानव अधिकार आयोगको पत्राचार


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग स्पष्टीकरण मागेको छ ।

आयोगमा प्राप्त उजुरी तथा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा आयोगले असार १५ गते रास्वपाको केन्द्रीय कार्यालयलाई पत्राचार गर्दै यस विषयमा विस्तृत जानकारी उपलब्ध गराउन आग्रह गरेको हो।

आयोगले बालबालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरिएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै, पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनअनुसार १८ वर्षमुनिका बालबालिकालाई सदस्यता वितरण गरिएको पुष्टि भए त्यस्तो कार्य प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुन सक्ने आयोगको ठहर छ।

यसै सन्दर्भमा आयोगले राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८को दफा २१(१) बमोजिम बालबालिकालाई सदस्यता वितरण गरिएको हो वा होइन भन्नेबारे यथाशीघ्र स्पष्ट विवरण उपलब्ध गराउन रास्वपालाई अनुरोध गरेको छ।