काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको ‘डिजिटल फरेन्सिक’ ल्याबलाई डिजिटल फरेन्सिकसम्बन्धी विभिन्न प्रकारका ‘सफ्टवेयर’ तथा ‘हार्डवेयर’लगायतका उपकरण हस्तान्तरण गरेको छ ।
नेपालका लागि अमेरिकाकी कार्यवाहक राजदूत स्कट अर्बमले मंगलबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अमेरिकी दूतावासले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवम् विकासका लागि उन्नत डिजिटल फरेन्सिक उपकरण प्रहरीलाई सहयोग गरेकामा धन्यवाद दिए ।
उनले यस किसिमका सहयोगहरू दुई देशबीचको विश्वास, मित्रता र साझा प्रतिबद्धताको प्रतिबिम्बसमेत भएका उल्लेख गरे । प्रहरी महानिरीक्षक कार्कीले हस्तान्तरण भएका आधुनिक उपकरणहरूले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने उल्लेख गरे ।
यस उपकरणहरूको सहयोगबाट डिजिटल प्रमाणहरूको प्राप्ती, संरक्षण तथा विश्लेषणमा थप स्पष्टता एवम् सहजीकरण हुने उनको भनाइ थियो । यस्ता उपकरणको सहयोगबाट प्रविधिजन्य अपराध अनुसन्धानमा थप मद्दत पुग्ने उनले बताए ।
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले हस्तान्तरण गरिएका आधुनिक उपकरणले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुनेमा विश्वास व्यक्त गरे । उनले अपराधको अनुसन्धान एवम् प्रमाण सङ्कलनमा समेत उक्त उपकरणले महत्वपूर्ण योगदान पुर्याउने बताए ।
त्यस अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले, अमेरिकी राजदूतावासका प्रतिनिधिलगायत वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति थियो ।

प्रतिक्रिया