चितवन। भारतको पटनाका दुग्ध उत्पादक किसानको समूह यहाँको दुग्धजन्य वस्तु उत्पादन र बिक्री वितरणको बारेमा अध्ययन गर्न आएको छ।
चितवनमा दुध उत्पादनको अवस्था र दुग्धजन्य वस्तुको उत्पादन तथा खपतको बारेमा जानकारी लिन त्यहाँको सुधा डेरीका डेरीका अध्यक्ष सञ्जय कुमारको नेतृत्वमा दुग्ध उत्पादक किसान समूह नेपाल आएको हो ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालले चितवनमा दुग्ध उत्पादनका क्षेत्रमा भएका असल अभ्यास र बजारीकरणका बारेमा टोलीलाई जानकारी गराए।
चितवनमा अहिले दैनिक तीन लाख ५० हजार दुध उत्पादन हुँदै आएको छ। यहाँको दुधको स्थानीय बजारसँगै पोखरा, काठमाडौँ लगायतका सहरमा पठाइने गरेको छ। कतिपय दुग्ध उत्पादक किसानले बिक्री गरेको दुधको अझै भुक्तानी पाउन नसकेको तथा भोग्न परेका समस्याका बारेमा जानकारी गराएको थियो।
टोलीले यहाँस्थित दुई वटा डेरी उद्योग, सङ्घले सञ्चालन गरेको डेरीमार्ट लगायतका स्थानको अध्ययन अवलोकनसमेत गरेको छ। सो अवसरमा कुमारले चितवनमा व्यवस्थित तबरले दुध उत्पादन र बिक्री वितरण गरेको भन्दै प्रशंसा गरे।
नेपालमा दुग्ध पदार्थको व्यवस्थित विवरणले आमउपभोक्ताको अधिकार सुनिश्चित गर्न सहज भएको उनले बताए।
यहाँको रत्ननगर नगरपालिकालाई गाईको पकेट क्षेत्रको रुपमा विकास गरिएको छ। पशु सेवा कार्यालय चितवनले एक जिल्ला एक विशेष पकेट क्षेत्र कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिकालाई गाईको पकेट क्षेत्रको रुपमा विकास गर्न आवश्यक सामग्री हस्तान्तरण गरेको हो।
कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरेको छ। कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार पालिकाको वडा नम्बर १०, ११, १४, १५ र १६ मा रहेका ११ वटा पशुपन्छी फर्म तथा दुग्ध उत्पादक सहकारी संस्थामार्फत आवश्यक सामग्री वितरण गरिएको हो।
गाईपालनका लागि गोठ निर्माणदेखि काउ म्याट, दुध बोक्ने क्यान, घाँस काट्ने च्याफकटर, अटो ड्रिङ्कर, मोटर, ठेला गाडा, मिल्क एनलाइजर जस्ता १२ प्रकारका सामग्री हस्तान्तरण गरिएको उनले बताए।कार्यालयको रु ३५ लाखको लागतमा ती सामग्री खरिद गरी हस्तान्तरण गरेको हो।
सो अवसरमा नगरपालिका प्रमुख प्रलाद सापकोटाले दुग्ध उत्पादक किसानलाई स्वरोजगार बनाउन यस्ता कार्यक्रम फलदायी हुने बताए।

प्रतिक्रिया