होटल संघ नेपालको बागमती अध्यक्षमा राम सुन्दर बके मनोनित


काठमाडौं । होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा पर्यटन व्यवसायी तथा ‘घरघरमा होमस्टे’ अभियानका अभियन्ता राम सुन्दर बके मनोनित भएका छन्।

संघको असार १४ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार भक्तपुरको सूर्यविनायक–रानिकोटस्थित भिलेज हाइल्यान्ड रिसोर्टका प्रबन्ध निर्देशक बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।

बके ग्रामीण पर्यटन, स्थानीय उत्पादनको प्रवर्द्धन तथा समुदायमा आधारित पर्यटन विकासका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएका छन्। उनले पर्यटनलाई स्थानीय रोजगारी, संस्कृति संरक्षण र आर्थिक समृद्धिसँग जोड्ने अभियान सञ्चालन गर्दै आएका छन्।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहद्वारा जारी मनोनयन पत्रमा बकेको नेतृत्वमा बागमती प्रदेशका सबै जिल्लालाई समेट्ने प्रभावकारी, समावेशी र सुदृढ प्रदेश समिति गठन हुने विश्वास व्यक्त गरिएको छ। साथै विधानअनुसार प्रदेश समिति गठन गरी पदाधिकारी तथा सदस्यहरूको नामावली सचिवालयमा बुझाउन आग्रह गरिएको छ।

नवनियुक्त अध्यक्ष बकेले प्रदेशमा होटल तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै पर्यटन उद्यमीहरूको हित, ग्रामीण पर्यटन विस्तार, होमस्टे प्रवर्द्धन तथा पर्यटनमार्फत स्थानीय आर्थिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको होटल संघ नेपालले जनाएको छ।

पर्यटन व्यवसायीहरूले बकेको मनोनयनले बागमती प्रदेशको पर्यटन क्षेत्रलाई थप गतिशील, संगठित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।