काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले कम्युनिष्ट एकताको हल्ला आफ्ना असफलता छोप्न चलाइएको भुत्ते हतियार भएको बताएका छन् ।
आइतबार काठमाडौंमा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा नेताहरुले कम्युनिष्ट एकताको कुरा गरेको प्रसंगप्रति लक्षित गर्दै बास्कोटाले यस्तो बताएका हुन् । कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले कम्युनिष्ट एकताको विषय उठान गरेका थिए ।
प्रचण्डले त कम्युनिष्ट एकता नभए भयानक दुर्घटना हुने चेतावनी दिएका थिए । बास्कोटाले नेताहरुलाई शक्ति आर्जन गर्न चाहेको भए विगतमा फुटाएर गल्ती भएको भन्दै क्षमा माग्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ । भयङ्कर खतरा देखाउँदै नेतृत्ववाट चलाइएको यो कथ्य रुपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो । सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो–भन । आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?’

प्रतिक्रिया