युद्धविराम तोड्दै इरानद्वारा कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण


रोयटर्स । अमेरिका र इरानबीच भएको अन्तरिम युद्धविराम सम्झौता संकटमा परेको छ । दुवै देशले एकअर्कामाथि सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै खाडी क्षेत्रमा पुनः सैन्य आक्रमण गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आक्रमण नरोक्ने हो भने अमेरिका ‘सैन्य कारबाही पूरा गर्न बाध्य हुने’ चेतावनी दिएका केही समयमै इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले हालैका अमेरिकी हवाई आक्रमणको प्रतिकारस्वरूप आफ्ना नौसैनिक र हवाई बलले संयुक्त रूपमा आक्रमण गरेको दाबी गरेको छ। अमेरिकी अधिकारीहरूले आक्रमण भएको पुष्टि गरे पनि हालसम्म कुनै अमेरिकी सैनिकको मृत्यु वा ठूलो क्षति नभएको बताएका छन्।

यसअघि अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा पानामाको झण्डा बोकेको एक तेल ट्यांकरमाथि इरानी ड्रोन आक्रमण भएपछि इरानका सैन्य निगरानी, सञ्चार, हवाई प्रतिरक्षा, ड्रोन भण्डारण तथा समुद्री माइन बिछ्याउने संरचनामाथि हवाई आक्रमण गरेको जनाएको थियो। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार ती आक्रमणहरू व्यापारिक जहाजमाथिको इरानी आक्रमणको प्रत्यक्ष जवाफ हुन्।

इरानले भने अमेरिकी आक्रमणले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अब सबै कूटनीतिक प्रक्रिया रोकिने चेतावनी दिएको छ। साथै, मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूले आगामी दिनमा थप आक्रमणको सामना गर्नुपर्ने चेतावनी पनि दिएको छ।

यसैबीच, दक्षिणी इरानको सिरिक क्षेत्रमा विस्फोट भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ । दुई साताअघि भएको १४ बुँदे अन्तरिम सम्झौताले चार महिनादेखिको युद्ध रोक्ने, स्ट्रेट अफ होर्मुजलाई पुनः जहाज आवागमनका लागि खुला गर्ने तथा इरानको आणविक कार्यक्रमलगायतका विषयमा वार्ता अघि बढाउने लक्ष्य राखेको थियो। तर पछिल्ला सैन्य गतिविधिले उक्त सम्झौता थप संकटमा परेको देखिएको छ।