आरोही फुञ्जो बनिन् चुमनुब्री गाउँपालिकाकाे पर्यटन सद्भावना दूत


गोरखा ।  कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई गाेरखाकाे चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ । सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेकी लामालाई हालै सम्पन्न गाउँसभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

सो पालिकाले यो वर्षलाई मनास्लु हिमालको सफल आरोहणको ७०औँ वर्ष पूरा भएको अवसरमा हिरक वर्षका रूपमा मनाइरहेको छ । सोही अवसरमा गाउँपालिकाको गाउँसभाले फुञ्जोको नाम पर्यटन सद्भावना दूतका रूपमा सर्वसम्मत अनुमोदन गरेको लामाले बताए ।

‘हाम्रो राष्ट्रको गहनाका रूपमा रहेकी फुञ्जोलाई पर्यटन सद्भावना दूत नियुक्त गरेका छौँ’, उनले भने । लामाका अनुसार विश्वभर ख्याति कमाएकी फुञ्जोले सद्भावना दूतका रूपमा मनास्लु क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नेछिन् । आफ्नो जन्मभूमिले दिएको यो सम्मानप्रति कृतज्ञता प्रकट गर्दै फुञ्जोले भनिन्, ‘यो मेरा लागि ठूलो सम्मान हो र यस क्षेत्रलाई विश्वभर प्रवर्द्धन गर्न म कुनै कसर बाँकी राख्ने छैन ।’

विश्वको आठौँ अग्लो शिखर मनास्लुका अतिरिक्त चुमनुब्रीको आफ्नै अद्वितीय परम्परा छ । अहिंसा क्षेत्र घोषणा भएको १०५ वर्ष पूरा गरेको चुमनुब्रीले अहिंसा क्षेत्रमा जैविक विविधताको पहिचान, निरन्तरता, प्रचारप्रसार र संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले ‘श्याग्या परम्परा संरक्षण ऐन, २०८०’ (२०२३) समेत जारी गरेको थियो ।

स्वीस आल्प्स र नेपालको हिमालय क्षेत्रमा तालिमप्राप्त गरेकी फुञ्जोले १४ घण्टाभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर आरोहण गर्दै सबैभन्दा छिटो आरोहण गर्ने महिलाका रूपमा विश्व कीर्तिमान कायम गरेकी थिइन् । सन् २०२४ मा उनले बेसक्याम्प (आधार शिविर)बाट १४ घण्टा ३१ मिनेटमा सगरमाथाको शिखर चुमेकी थिइन् ।

चुमनुब्री–७ छोकाङपागाउँमा जन्मेकी फुञ्जोले सगरमाथा, ल्होत्से, मनास्लु, चो ओयुका साथै आमादबलाम, लोबुचे र डेनालीलगायतका अन्य हिमालहरूको सफल आरोहण गरिसकेकी छन् । उनले ग्रामीण तथा सीमान्तकृत समुदायहरूलाई जीविकोपार्जन, शिक्षा र दिगो विकासका क्षेत्रमा समेत सहयोग पुर्याउँदै आएकी छिन् ।