रास्वपाको प्रथम महाधिवेशन, लोकतन्त्रको भद्दा मजाक !


ऐन महर

राष्ट्रिय स्वतन्त्र पार्टीले भर्खरै ३ दिनको लागि भनेर आयोजना गरिएको महाधिवेशन ७ दिन लगाएर सम्पन्न गरेको छ । महाधिबेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय कमिटीका सम्पूर्ण सदस्य ज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । आफूलाई सुशासनको हिमायती र लोकतान्त्रिक वैकल्पिक राजनीतिक शक्तिका रुपमा प्रचार गर्दै आइरहेको र भर्खरै सम्पन्न आम निर्वाचनमा यसकै जगमा करिब दुई तिहाई जनमत प्राप्त गरेको पार्टीको वास्तबिकता भर्खरै सम्पन्न महाधिबेशनले उदाङ्गो बनाईदिएको छ । यस महाधिबेशनले सुशासन र लोकतन्त्रको भद्दा मजाक बनाईदिएको छ ।

१) महाधिवेशनको प्रतिनिधि छनोट प्रक्रिया असाध्यै अलोकतान्त्रिक र आफना सहयोगी आफूलाई सहयोग गर्ने व्यक्तिलाई छानिछानि तोकियो । प्रतिनिधि छनोटमा कुनै लोकतान्त्रिक विधि प्रक्रिया अवलम्बन गरिएन । साथै एउटा नेपाल जस्तो सानो मुलुक र थोरै जनसंख्या भएको देशमा करिब ४४०० प्रतिनिधिको संख्या त्यो भद्दा र असान्दर्भिक संख्या थियो । जबकी चिनियाँ कम्युनिष्ट पार्टी जुन देशको जनसंख्या डेढ अर्ब छ र उक्त पार्टीको सदस्य संख्या करिब दश करोडको करिब छ उसको समेत महाधिबेशनमा जम्मा ३ हजारको सेरोफेरोमा हुने गर्छन् ।

२) उद्घाटन समारोहमा अरु पार्टीका नेताहरुलाई अतिथि बोलाएर अपमान गर्नु र आलोचना स्वरहरु सुन्न नसक्नु ।

३) व्यवस्थापनका हिसाबले ३ दिनमा सकेर एउटा उदाहरण प्रस्तुतगर्ने भनेर हल्ला गरियो तर बडो मुस्किलले ७ दिन लगाएर बल्ल बल्ल सम्पन्न गरियो ।

४) सभापतिको चुनाव लड्छु भन्ने एकजना प्रतिनिधिको प्रतिनिधि नै खारेज गरिनु र पछि आएर पार्टी सदस्यबाट नै निस्कासित गरिनु ।

५) वरिष्ठ नेताले मनोनयन नै दर्ता नगरि घोषणा गरिनु अझ प्रधानमन्त्री जस्तो भैसकेको व्यक्तिले महाधिवेशनमा मतदान नगर्नु ।

६) निर्वाचन प्रक्रिया अवलम्बन गर्दा सदस्यहरुको मनोनयन न त अल्फाबेटका आधारमा गरियो न त दर्ता क्रम संख्याका आधारमा गरियो । मुख्य नेतृत्वको आदेशमा जिताउनु पर्नेलाई निर्वाचन आयोगको स्वविवेकका आधारमा भोटिङ मेशिनमा अगाडी नाम राखियो र अझ उम्मेदवारको फोटो नराखिनुले यस प्रवृत्तिलाई थप पुष्टि गर्दछ । कतिपयको त नाम पनि बिगारियो र कतिको त मनोनयन दर्ता गरेर पनि भोटिङ मेशिनमा नाम नै राखिएन ।

७) निर्वाचितहरुको नाम हेर्दा कि त सामाजिक सञ्जालमा भाइरलहरु छन भने कि त नेतृत्वले आशिर्वाद दिएका मात्रै छन् । स्वतन्त्र र इमान्दार रुपमा पार्टी काम गरेका र योग्यता क्षमता बोकेका कार्यकर्ताहरु चिसो पानीले नै नुहाउन बाध्य भए ।

८) महाधिवेशन जस्तो जहाँ सचेत र पार्टीको जिम्मेवार कार्यकर्ता प्रतिनिधि मतदाता हुन्छन् पहिलो चरणको मतदानमा ३० प्रतिशतले मतदान बहिष्कार गर्नु र दोस्रो चरणको मतदानमा ७० प्रतिशतले बहिष्कार गर्नुले महाधिवेशन र नेतृत्व छनोटमा चरम निराशा र असहमति प्रकट हो अझ टिके सभापति र वरिष्ठ नेताले मतदान नगर्नुका साथै नेतृत्व र महाधिबेशनको बैधतामा पनि गम्भीर प्रश्न सिर्जना गरेको छ ।

९) पदाधिकारी र केन्द्रीय कमिटीमा निर्वाचितहरु पनि भूगोल समुदायका हिसाबले समावेशी छैनन् । निश्चित समुदाय र भूगोलका मात्रै हावी भएका छन् । पदाधिकारीमा त निर्वाचित ७ जना मध्ये ३ जना चितवनबाट मात्रै प्रतिनिधित्व गर्छन् र जम्मा ८ जना पदाधिकारीमा दुईजना मधेशका साह र बाँकी ६ जना एउटै समुदायका देखिन्छन् । दलित सँग मुखले क्षमा मागेका हरुले नेत्रित्वमा एक जना पनि योग्य देखेनन् ।

१०) केन्द्रीय कमिटीमा एक तिहाई र जम्मा १९ जना मध्ये १२ जना पदाधिकारी मनोनयन गर्ने निर्णय आफैँमा चरम अलोकतान्त्रिक र निरंकुश र तानाशाहिको मार्गमा पार्टी र नेत्रित्व लम्केको स्पष्ट हुन्छ ।

११) अझ व्यबस्थापनका विषयका साथै नेत्रित्व र निर्वाचन आयोगको रबैया, केही नेता कार्यकर्ताको अराजकता, भाइरल हुनका लागि आफूलाई थाहा नभएका बिषयमा पनि जथाभावी अभिव्यक्ति दिने प्रवृत्ति साथै अधिकांश महाधिवेशन प्रतिनिधिको चरम असहमति, असन्तुष्टिले रास्वपा सर्वसत्तवादको घमण्डले फुलेको र अपरिपक्व, लोकतन्त्रको चिरहरण मा अग्रसर रहेको र देशलाई भड्कालोमा जाक्न उद्दत रहेकोकमा कुनै शंका रहेन ।