भूकम्पमा परी भेनेजुएलामा मृत्यु हुनेको संख्या एक हजार नजिक, तीन हजार भन्दाबढी घाइते, १७२ जना अझै भग्नावशेषमा फसेको आशंका


बीबीसी । भेनेजुएलामा बुधबार गएका दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने ३ हजार ३६० जना घाइते भएका छन्। उद्धार टोलीहरूले भग्नावशेषमा जीवित व्यक्तिको खोजी जारी राखेका छन् भने सयौँ परिवार आफ्ना आफन्तको अवस्थाबारे समाचारको प्रतीक्षामा छन्।

सरकारी अधिकारीहरूका अनुसार राजधानी काराकाससहित देशको उत्तरी क्षेत्रमा दर्जनौँ भवन भत्किएका छन्। घाइतेहरूको उपचार अस्थायी स्वास्थ्य शिविरहरूमा भइरहेको छ। विभिन्न देशबाट सयौँ उद्धारकर्मी भेनेजुएला पुगिसकेका छन् भने थप उद्धार टोली परिचालन गर्ने तयारी भइरहेको छ।

बुधबार केही सेकेन्डको अन्तरालमा दुई शक्तिशाली भूकम्प गएका थिए। तीमध्ये दोस्रो भूकम्प ७.५ म्याग्निच्युडको रहेको र पछिल्लो एक शताब्दीमा भेनेजुएलामा गएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ।

राजधानीको उत्तरमा रहेको ला ग्वाइरा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। उक्त क्षेत्रमा देशका प्रमुख बन्दरगाहमध्ये एक र मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि रहेका छन्। धेरै व्यक्ति अझै बेपत्ता रहेकाले मृत्यु हुनेको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।

राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजका अनुसार कम्तीमा १७२ जना अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ। ला ग्वाइरामा मात्रै २४३ जनाको जीवित उद्धार गरिएको उनले जानकारी दिए।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले दर्जनौँ व्यक्तिलाई जीवित उद्धार गर्न सफल भएको बताउँदै प्रारम्भिक भूकम्पपछि हालसम्म २१४ वटा पराकम्प (आफ्टरशक) आएको जानकारी दिइन्।

भूकम्पका कारण सयौँ भवन, अस्पताल, सपिङ सेन्टरलगायत करिब एक हजार पूर्वाधारमा क्षति पुगेको छ। बाँकी रहेका अस्पतालहरूमा बिरामीको अत्यधिक चाप परेको चिकित्सकहरूले बताएका छन्।